काठमाडौं/१० मंसिर – त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालय २०७३ फाल्गुन १८ गते प्रकाशित विज्ञापन नं. १८/०७३/०७४ अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक कर्मचारीहरुको परीक्षा तथा प्रकाशित नतिजा रद्द गरेको छ ।
उक्त पदहरुको लिखित परीक्षाका उत्तरपुस्तिकाहरु परिक्षण तथा नतिजा प्रकाशन गर्ने क्रममा विभिन्न १६ वटा पदहरुमध्ये ८ वटा पदहरु (शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानूनी सल्लाहकार, मूख्य लेखा सहायक, मूख्य कार्यालय सहायक, कार्यालय सहायक, पुस्तकालय सहायक पदहरुको हकमा अदालतले परीक्षाको परिणाम फेरबदल गर्ने गराउने काम गरेको ठहर गरेपछि नतिजा रद्द गरेको हो ।
साथै उपप्रशासक, उपआर्थिक नियन्त्रक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियरिङ्ग), प्राविधिक अधिकृत (कम्प्युटर), प्राविधिक सहायक (कम्प्युटर), र ड्राइभरको हकमा समेत कोडिङ्ग, डिकोडिङ्ग, उत्तरपुस्तिका परिक्षण, अन्तर्वार्ता सञ्चालन लगायतका कार्यहरुमा सेवा आयोगको आन्तरिक कार्यविधि, २०६७ को पूर्णरुपमा पालना भएको नदेखिएको साथै त्रि. वि. ऐन, नियम तथा विनियममा भएको व्यवस्थाको समेत पूर्णरुपमा पालना गरेको नपाईएको हुँदा रद्द गरिएको विश्वविद्यालयले जनाएको छ ।
उल्लेखित परीक्षासँग सम्बन्धित कार्यहरु समेत दुषित देखिएकोले त्रिभुवन विश्वविद्यालय, शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० (२०८०।०३।१२ सम्मको संशोधन सहित) को नियम ९५ ( ५ ) मा भएको व्यवस्थाका आधारमा लिखित परीक्षाको नतिजा एवं अन्तर्वार्ता लगायत उक्त विज्ञापनसँग सम्बन्धित सम्पूर्ण प्रकृयाहरु (विज्ञापन वाहेक) आयोगको २०८१ माघ ७ गते सम्पन्न बैठकको निर्णय बमोजिम रद्द गरिएको सूचनामा उल्लेख छ ।
उक्त विज्ञापनमा नियमानुसार आवेदन पेश गरी नामावली स्वीकृत भई लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरुको पुनः लिखित परीक्षा यथाशिघ्र सञ्चालन गरिने र सो का लागि नामावली अद्यावधिक गर्नु पर्ने भएकोले २०८१/०८ /१६ गते देखि २०८१।०९।२१ गते भित्र व्यक्तिगत विवरण तथा सो संग सम्बन्धित प्रमाणित कागजातहरु आयोगको वेवसाईट www.tsc.tu.edu.np मा उपलब्ध लिंक मार्फत पेश गर्न सूचित गरेको छ ।



