शिक्षा मन्त्रालयले माग्यो क्वारेन्टाइनका लागि उपलब्ध गराउन सकिने कक्षाकोठाको विवरण

काठमाडौं/९ चैत– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुले क्वारेन्टाइनका लागि उपलब्ध गराउन सक्ने कक्षाकोठा र विद्यालयहरुको विवरण माग गरेको छ । क्वारेन्टाइनका लागि विद्यालयहरु सुरक्षित स्थाल भएको भन्दै सुझाव आउन थालेपछि मन्त्रालयले चासो देखाएको हो । मन्त्रालयले आज हिसान, प्याब्सन र एन–प्याब्सनका पदाधिकारीलाई बोलाएर यकिन विवरण उपलब्ध गराउन माग गरेको हो ।

मन्त्रालयको आग्रह सँगै प्याब्सनले विज्ञप्ति नै जारी गरी क्वारेन्टाइनका लागि उपलब्ध गराउन सकिने विद्यालयहरुको क्षमता र ठेगाना सहितको नामावाली पठाउन प्रदेश कार्यसमितिलाई आग्रह गरेको छ । त्यस्तै, हिसानले पनि यसअघि नै विज्ञप्ति जारी गरी सरकारलाई आवश्यक परेमा पाँच हजार कक्षाकोठा उपलब्ध गराउने निर्णय गरेको थियो भने एन–प्याब्सन पनि यसका लागि तयार भएको थियो ।

०७२ सालको भूकम्पपछि शैक्षिक संस्थाहरुलाई सुरक्षित स्थालका रुपमा हेरिन्छ । परीक्षालगायतका गतिविधिहरु स्थगित भएकाले पनि विद्यालयहरुले सरकारलाई आवश्यक परेमा क्वारेन्टाइन उपलब्ध गराउन तयार भएका हुन् । निजी विद्यालय तथा क्याम्पसहरुको कक्षाकोठा सुविधा सम्पन्न भएकका कारण पनि क्वारेन्टाइनका लागि प्रयोग गर्न सजिलो हुन्छ । तर सरकारले स्थानीय तहसँग आवश्यक समन्वय गर्न नसक्दा कुन विद्यालयका, कति कक्षाकोठामा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिन्छ भन्ने यकिन विवरण भने कसैसँग छैन ।