काठमाडौ/१ मंसिर – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिई किसान र श्रमलाई सम्मान गर्नुपर्ने बताएकी छन् । उनले शिक्षाको मूल उद्देश्य मिहिनेत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउन निरन्तरता दिनु, सिकाइको प्रयोग गर्न, सिकाइ र यसको प्रयोगका लागि उत्प्रेरणा बढाउनु, समूहमा काम गर्न र श्रमलाई साम्मान गर्नु रहेको बताइन ।
मन्त्री भट्टराईले जाइका र सिन्सु विश्वविद्यालयको सहयोगमा एएसटी फाउन्डेशनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा स्ट्रेन्थेन एग्रिकल्चर एजुकेसन इन सेकेन्डरी स्कुल इन नेपालले आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा सो कुरा बताएकी हुन ।

नेपालमा ६७ प्रतिशत जनता कृषिमा आश्रित रहेको, राष्ट्रिय आयमा कृषिको २४ प्रतिशत हिस्सा रहेको र २ सय ५ विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवर्धनका लागि भएका कार्यको प्रशंसनीय भएको मन्त्री भट्टराईको भनाइ थियो । उनले विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न र खेत र बारीलाई कृषिको प्रयोगशाला बनाई कृषिकर्मी र श्रमलाई सम्मान गर्न आह्वान गरीन ।
समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपुरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्छ भन्दै भट्टराईले साना कामबाट ठूलो उन्नति गर्ने जापान र सबै विद्यार्थी सबै क्षेत्रमा सफल हुनुपर्नेमा जोड् दिइन ।

प्रोजेक्टबेस र होमबेस प्रोजेक्ट मार्फत कृषिको आधुनिकीकरण हुन सक्ने भएकाले विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउन पनि आग्रह गरीन । प्राविधिक धारतर्फ अहिलेको पाठ्यक्रमले कृषि शिक्षाको ज्ञान दिएपनि कृषिको व्यवहारिक प्रयोग गर्न नसकिएको र खेतलाई प्रयोगशाला बनाउन आवश्यक रहेको बताइन ।
त्यसैगरी सामुदायिक विद्यालयका विद्यार्थी कमजोर हुन्छन् भन्ने भाष्य निर्माण भईरहेको र राज्यले नै संस्थागत विद्यालय र सामुदायिक विद्यालयमा वर्गीय विभाजन गरेको धारणा राखिन । यस्तो भाष्य हटाउनु पर्ने बताउँदै सामुदायिक विद्यालयका विद्यार्थी पनि संस्थागत विद्यालयका विद्यार्थी भन्दा कम नहुने उल्लेख गरिन ।
सिन्सु विश्वविद्यालयका प्रोफेसर डा. के नेमोतोले जापानले दोस्रो विश्वयुद्ध पछि कृषि शिक्षाबाट विकास गरेको र नेपाले पनि त्यसबाट धेरै सिक्न सक्ने बताए । दुई फेजमा तीन विद्यालयमा सञ्चालन गरिएको कार्यक्रमबाट कृषि शिक्षामा सरकारले लगानी गर्न सके नेपाललाई पनि जापान जस्तै विकास गर्न सकिने बताए । त्यसैगरी यसका लागि शिक्षकले योगदान गर्न सक्ने तर त्यसका लागि शिक्षक असल, अनुभवी, राम्रो भिजन भएको हुनुपर्ने, राम्रो पाठ्यक्रम निर्माण गर्नुपर्ने, अग्रजले सिकोको अनुभवलाई शिक्षासँग जोड्नुपर्ने, नयाँ प्रविधि र विज्ञानको प्रयोग गर्नुपर्ने धारणा राखे ।

स्वेत वराह माध्यमिक विद्यालय काभ्रे, जन आदर्श अमरसिंह माध्यमिक विद्यालय, मुस्ताङ र नेपाल राष्ट्रिय मावि चितवनमा सञ्चालन गरिएको उक्त कार्यक्रम अनुसन्धानात्मक प्रोजेक्ट र होम प्रोजेक्टबाट विद्यार्थीहरूलाई शिक्षक सिकाई गरिएको थियो । त्यसैगरी पाठ्यक्रमलाई विद्यार्थीसँग जोड्न, विद्यार्थीहरूले कृषि शिक्षा मार्फत सिकेको ज्ञानलाई बजारसँग जोड्न फ्युचर फार्मर फर जापान (एफएफजे) जस्तै नेपालमा पनि एफएफएल खोल्नुपर्ने नेमोतोको भनाई थियो । उनले अब सञ्चालन हुने तेस्रो फेजको कार्यक्रममा ५० विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठले ज्ञान भनेको विद्यार्थी आफैले निर्माण गर्ने भएकोले शिक्षक सहजकर्ता मात्रै भएको र त्यसै अनुसारको भूमिका खेलनुपर्ने बताए । श्रेष्ठले नेपाली समाजमा नपढ्ने विद्यार्थीलाई हलो जोत्ने उदाहरण दिने गरेको उल्लेख गर्दै यसलाई परिवर्तन गर्न आवश्यक रहेकोले पाठ्यक्रममा मात्रै समावेश गरेर नहुने त्यसका लागि घरमा विद्यार्थीले गर्ने क्रियाकलापलाई पनि मूल्याङ्कनमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरे ।
उत्कृष्ट विद्यार्थीलाई पुरस्कार
उक्त कार्यक्रममा निबन्ध प्रतियोगितामा सहभागी उत्कृष्ट ६ विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कक्षा ९ -१० का विद्यार्थीलाई कृषि पेशामा जीवनको आधार भन्ने शीर्षकमा र कक्षा ११-१२ का विद्यार्थीलाई नेपालमा अर्गानिक कृषिको महत्व शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डा. गणेश भट्टराईको संयोजकत्वमा उत्कृष्ट विद्यार्थीहरू छनोट गरिएको थियो भने १७ विद्यालयका १ सय ८७ विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए ।

कक्षा ९-१० तर्फ गान्धी आदर्श माध्यमिक विद्यालयकी प्रतीक्षा चौधरी तेस्रो, जन आदर्श अम्मर सिंह माध्यमिक विद्यालयकी सुनिता दर्जी दोस्रो र जनक माविकी सकिना लामा पहिलो स्थान प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी कक्षा ११-१२ को निबन्ध प्रतियोगिता तर्फ जन आदर्श अम्मर सिंह माध्यमिक विद्यालयकी कविता सेलवुजा तेस्रो,श्री पञ्चकन्या माविका अशोक ढकाल दोस्रो र ईशानेश्वर माविका करुण श्रेष्ठ पहिलो स्थान प्राप्त गर्न सफल भएका छन् । पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र मेडलबाट सम्मान गरिएको थियो ।



