काठमाडौं/६ कार्तिक – पाठ्यक्रम विकास केन्द्रले सामाजिक अध्ययन विषयको सबै कक्षाको पाठ्यक्रम परिमार्जनको सम्पूर्ण काम पुस महिना भित्र सक्ने गरी अगाडी बढेको जनाएको छ । कक्षा ४ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्नका लागि पृष्ठपोषण लिने काम सम्पन्न भइसकेको बताउँदै सो जानकारी दिएको हो ।
केन्द्रले सामाजिक अध्ययनको पाठ्यक्रम परिमार्जनका लागि अहिलेसम्म रोस्टर शिक्षकहरूको वर्कसप गरिसकेको छ । साथै सामाजिक अध्ययन अध्यापन गराउने १ सय ५९ जना शिक्षकहरूको सहभागीतामा छलफल सम्पन्न भएको जनाएको छ । छलफलमा हरेक जिल्लाबाट आधारभूत तहका २ जना र माध्यमिक तहका २ जना शिक्षकहरूको सहभागीता गराइएको थियो ।
त्यसैगरी आगामी दिनमा काठमाडौँ बाहिर दुई ठाउँमा पृष्ठपोषण लिने तयारी रहेको समेत स्रोतले जानकारी दियो । स्रोतले कक्षा ४ देखि कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जनको काम पुससम्म सकिने बताए पनि स्वीकृत भएका परिमार्जित पाठ्यक्रमको पाठ्यपुस्तक लेखन भने माघ महिनादेखि नै सुरु गरिने योजना रहेको जनाएको छ ।
कक्षा १० को सामाजिक अध्ययनको परिमार्जन गरिएको पाठ्यक्रम २०८२ साल देखिनै लागु गर्ने तयारी गरेकोले उक्त पाठ्यक्रम स्वीकृत भएको खण्डमा पाठ्यपुस्तक लेखन कार्य माघ महिनामा गरिने स्रोतको भनाई छ ।
अधिकांश शिक्षक तथा विभिन्न व्यक्तिहरूले सामाजिक अध्ययन विषयको पाठ्यक्रम कठिन भएको र त्यसलाई सरल बनाउनुपर्ने सुझाब दिएका छन् ।



