सामाजिक अध्ययनका पाठ्यक्रम विषयवस्तु घटाउनुपर्ने सुझाब

काठमाडौं/११ असोज – सामाजिक अध्ययनका पाठ्यक्रमका विषयवस्तु बोझिलो भएकोले घटाउनुपर्ने विभिन्न सरोकारवालाबाट सुझाव प्राप्त भएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । विज्ञान, गणित र सामाजिक अध्ययनका पाठ्यक्रमका विषयवस्तु बोझिलो र धेरै भएकाले घटाउनुपर्ने सुझाव प्राप्त भएको जनाएको हो ।


हालसम्म पाठ्यक्रम परिमार्जन सम्बन्धमा सरोकारवालाबाट प्राप्त सुझावमा पाठ्यक्रममा रहेका विषयवस्तुको लम्बीय र क्षितिजीय सन्तुलन मिलाउनुपर्ने, जीवनोपयोगी सिपअन्तर्गत दैनिक जीवनमा आवश्यक सिप समावेश नभएकाले नेपालको परिप्रेक्ष्यमा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने सिप समावेश गर्नुपर्ने लगायतका सुझाब छन् ।


त्यसैगरी शिक्षा विषय छनोट गरी कक्षा ११–१२ अध्ययन गर्ने विद्यार्थीका लागि ती विषयमा आन्तरिक मूल्याङ्कनलाई २५ प्रतिशतबाट बढाई ५० प्रतिशत बनाउने र यसलाई अभ्यास शिक्षणका रूपमा व्यवस्था गर्नुपर्ने सुझाब प्राप्त भएको पाठ्यक्रम महानिर्देशक इम नारायण श्रेष्ठले बताए ।


प्राविधिक धार कक्षा ९ १२ मा अध्यापन हुने विषय, विषयवस्तु, मूल्याङ्कन प्रक्रिया र क्रेडिट आवर सम्बन्धमा पुनरावलोकन हुनुपर्ने, ऐच्छिक विषयको समूह मिलान र नयाँ विषय थप गर्नुपर्ने, बौद्धिक पलायन रोक्नका लागि विद्यालय शिक्षालाई आधारशिलाका रूपमा विकास गर्नुपर्ने, राष्ट्रिय शिक्षा नीति २०७६ का प्रावधान समावेश गर्नुपर्ने, मातृभाषाका पाठ्यक्रम निर्माण गर्दा भाषा खण्डित नहुने गरी निर्माण गर्नुपर्ने भन्ने भाषा आयोगको सुझावलाई समावेश गर्नुपर्ने, प्राविधिक रूपमा नमिलेका पाठ्यघण्टा मिलाउनुपर्ने (कक्षा ४ देखि १० सम्म), कक्षा ९–१० र कक्षा ११–१२ को पाठ्यक्रममा भाषा विषय छनोट गर्ने विद्यार्थीले सोही समूहमा रहेका अन्य विषय छनोट गर्न नपाएकाले छुट्टै भाषा समूहको व्यवस्था गर्नुपर्ने सुझाब आएको बताए ।