सिप र संस्कारलाई पाठ्यक्रममा समावेश गर्न सरोकारवालाको सुझाब

काठमाडौं/११ असोज – जीवनोपयोगी सिप अन्तर्गत दैनिक जीवनमा आवश्यक सिप समावेश नभएकोले नेपालको परिप्रेक्ष्यमा विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने सिप, व्यवहारिक ज्ञान र संस्कार लगायतका विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाब सरोकारवालाहरूले दिएका छन् । शिक्षा मन्त्रालयले बिहिवार आयोजना गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप र पाठ्यक्रम परिमार्जन सम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा उक्त सुझाब दिएका हुन् ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यार्थीको सिकाई उपलब्धि बढाउनका लागि विद्यालय तहको पाठ्यक्रमलाई परिमार्जन गर्न लागिएको प्रस्ट पार्दै सोह्रौँ योजनामा उल्लेख भए अनुसार पाठ्यक्रम परिमार्जन गरेर अगाडी बढ्नुपर्छ भनेर सरोकारवालाहरूसँग छलफल गरिएको बताइन ।


उनले पाठ्यक्रम र पाठ्यपुस्तकमा फरक रहेको बताउँदै अहिले पनि यसमा प्रस्ट हुन नसकेको आफूलाई लागेको र पाठ्यक्रम र पाठ्यपुस्तक बिचको भिन्नतालाई छुट्याउनु पर्ने बताइन । त्यसैगरी शिक्षक आफैमा पाठ्यक्रम भएकोले पाठ्यक्रमलाई विषय वस्तु वा एउटा निर्माण भएको पाठ्य सामग्रीका हिसाबले मात्रै बुझ्न नहुने धारणा व्यक्त गरिन ।


उनले भनिन् ‘शिक्षक आफैमा पाठ्यक्रम हो । एउटा शिक्षकलाई जबसम्म हामीले पाठ्यक्रमका सम्पूर्ण कुराहरूमा प्रशिक्षित गर्न सक्दैनौँ र हाम्रा पाठ्यपुस्तकहरूमा मात्रै सीमित गरियो भने विद्यार्थीको सिक्ने दायरा साँघुरो हुन्छ भन्ने लाग्छ । आजका विद्यार्थी भनेका सिक्ने दायरा साँघुरो भएका हुनुहुन्न ।’


नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख नैन सिंह महरले जीवनोपयोगी शिक्षा कसरी बनाउन सकिन्छ भन्नेमा ध्यान दिन र कक्षा ८ भन्दा माथिका विद्यार्थीलाई सिपसँग जोड्नुपर्ने सुझाब दिए । नेकपा माओवादी केन्द्र शिक्षा विभाग प्रमुख महाप्रसाद शर्माले श्रम गरेकालाई प्रोत्साहन गर्ने पाठ्यक्रमको आवश्यकता रहेको बताए ।


नेकपा एमाले केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख पार्वती रावलले सिप सहितको शिक्षामा केन्द्रीत हुनुपर्ने, अभिभावकको पनि उत्तरदायित्व बढाउनुपर्ने, स्थानीय तहको पाठ्यक्रमलाई व्यवस्थापन गर्नुपर्ने र सामाजिक, आर्थिक, पारिवारिक अवस्था हेरेर निजी र सामुदायिक विद्यालयको सिकाई एउटै हुनुपर्ने विचार व्यक्त गरिन । रावलले सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरूले एउटै थलोमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेकोले सिकाई पनि एउटै हुनुपर्नेमा जोड् दिइन ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारीले शिक्षकहरूलाई पाठ्यक्रम सम्बन्धी तालिमको अभाव भएकोले तालिमको व्यवस्था गर्न आग्रह गर्दै व्यवहारिक तथा प्रयोगात्मक शिक्षालाई पाठ्यक्रममा समावेश गर्नपर्ने बताए । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशार सुवेदीले राष्ट्रियता, मानवीय मूल्य, नेपाली राष्ट्रिय विशिष्टता, नेपाली मूल्य आदर्श, कला संस्कृति र असल हुनुपर्छ भन्ने सिकाउन नसकिएको धारणा राख्दै जुन समाजलाई भिड्ले अगुवाइ गर्छ र विज्ञापनले प्रायोजित आदर्शले अगुवाइ गर्छ त्यो समाजलाई पतन हुनबाट कसैले जोगाउन नसक्ने बताए ।


अहिलेसम्म घोकेर सबै भन्दा बढी नम्बर ल्याउनेलाई उत्कृष्ट मानिएकोले ग्रेड मात्रै ठुलो कुरा होइन भन्ने सोचाईबाट सबै विद्यार्थी र अभिभावकलाई मुक्त गराउनुपर्ने उनको भनाई थियो । त्यसैगरी एक वर्षे इसिडीलाई बहुँवर्षीय बनाउनुपर्ने, निरन्तर मूल्याङ्कन पद्धतिको प्रयोग ठिकसँग भएको छैन यसलाई प्रयोग गर्न शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने, स्थानीय पाठ्यक्रमको अराजकता धेरै भएकोले स्थानीय तहले बनाएको पाठ्यक्रम सङ्घीय सरकाले स्वीकृति गर्ने पद्धति बनाउनुपर्ने र विद्यालय तहको पाठ्यक्रम संरचना अनुसार एक तह पुरा गर्दा स्तरीकृत परीक्षा लिने व्यवस्था गर्नुपर्ने सुझाब दिए ।


नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले शिक्षक सेवा आयोग पास गरेका शिक्षकहरूलाई बिना तालिम सिधै कक्षा कोठामा पठाईने गरिएकोले शिक्षकको पहिलो नियुक्तिबाटै शिक्षक तालिम, पुर्नताजकी जस्ता कुरा राख्न जरुरी रहेको बताए । उनले जतिसुकै राम्रो पाठ्यक्रम बनाए पनि गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय लगानी र व्यवस्थापन जरुरी रहेकोले पाठ्यक्रमको प्रारूपमा यसलाई मनन् गर्न आवश्यक रहेको धारणा राखे ।


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घकी सचिव मञ्जु नेपालले विद्यार्थीले गर्ने प्रविधिको प्रयोग चुनौतीको रूपमा रहेको र त्यसलाई ध्यान दिएर पाठ्यक्रमलाई सान्दर्भिक बनाउनुपर्ने बताइन । उनले शिक्षक र अभिभावकको साझेदारीमा सिकाई सुनिश्चित गर्नुपर्नेमा जोड् दिइन । नेपाल अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पाठ्यक्रम आफैमा राम्रो भएपनि उदेश्य अनुरूप कक्षा कोठामा सिकायौँ की सिकाएनौँ भन्ने कुरालाई हेरेर कार्यान्वयन गर्न आवश्यक रहेको बताए । साथै राष्ट्रिय पाठ्यक्रम प्रारूपमा उल्लेख भएका १२ वटा उदेश्य अनुरूप रिभ्यु गरे पुग्ने सुझाब दिए ।


विद्यार्थीलाई सामुदायिक विद्यालयले खाडी पठाए निजीले युरोप पठाए भन्ने आरोप लाग्ने गरेको तर्क राख्दै पाठ्यक्रमले नै विद्यार्थीलाई विदेश पलायन हुन बाध्य पारेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाको भनाई थियो । उनले विज्ञ र प्रशासनिक संरचनाले निर्माण गरेको पाठ्यक्रम राम्रो नभएको र कक्षाकोठाका शिक्षकलाई राखेर पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए । सिपमा आधारित शिक्षा नभएको र पाठ्यक्रमले कक्षाकोठामा जीवनसँग जोडेको छ की छैन हेर्न आवश्यक रहेको उनको भनाई थियो । साथै निजी विद्यालयको अङ्ग्रेजीले गर्दा नेपाली खतम भयो भन्ने आरोप लाग्ने गरेको उल्लेख गर्दै भाषा माध्यम मात्रै भएको र विद्यार्थीलाई दिन खोजेको ज्ञान महत्वपूर्ण हुने तर्क गरे ।


नेशनल प्यब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षाको राष्ट्रिय उदेश्यलाई हेरेर त्यसै अनुरूप पाठ्यक्रम निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । न्यौपानेले संसार कता गइरहेको छ त्यसलाई हेरेर समय सापेक्ष प्रविधिसँग जोड्ने शिक्षा र व्यवहारसँग जोड्ने जीवनोपयोगी संस्कारसहितको शिक्षा दिन सक्ने पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको बताए । शिक्षण सकाईको तरिकालाई समेत परिवर्तन गर्न खाँचो रहेको उनको सुझाब थियो ।