शैक्षिक परामर्श संस्थाले मेलाको अनुमति माग गर्दा विद्यार्थीको विवरण पेस गर्नुपर्ने

काठमाडौं/१० असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले मेला सञ्चालनको अनुमति माग गर्दा विगत एक वर्षमा परामर्शसेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नु पर्ने व्यवस्था गरेको छ ।


शैक्षिक परामर्श सेवा, ब्रिज कोर्स, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षा सञ्चालन गर्न कुनै पनि संस्थाले विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नु पर्ने व्यवस्था गरेको हो । खबर एजुकेशनले यस विषयमा निरन्तर समाचारहरू प्रकाशन गर्दै आएको छ ।


मन्त्रालयले एक सूचना जारी गर्दै शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (संशोधनसमेत) अनुसार शैक्षिक मेलाको अनुमति माग गर्दा नेपालका विश्वविद्यालयहरू, तिनमा पढाई हुने कार्यक्रमहरू र नेपालमा प्राप्त हुने अवसरहरूको बारेमा परामर्श सेवा उपलब्ध गराउनु पर्ने, एक वर्षमा परामर्शसेवाबाट विदेशी विश्वविद्यालयमा गएका विद्यार्थीहरूको पूर्ण विवरण पेस गर्नु पर्ने र शैक्षिक मेला आयोजना गर्दा नवीकरण भएका वा मन्त्रालयमा नवीकरणका लागि प्रक्रिया पुरा गरेका संस्थाहरू मात्र सहभागी गराउने जनाएको छ ।


त्यसैगरी परामर्श सेवा मार्फत वैदेशिक अध्ययनमा गएका विद्यार्थीहरू कुनै पनि समस्यामा परेको प्रामाणिक उजुरी प्राप्त भएमा मन्त्रालयबाट प्रदान गरिएको स्वीकृति तुरुन्त रद्द गरिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।