सुर्खेत/९ असोज – मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लिएर तालाबन्दी गरिएको छ । विश्वविद्यालयको कुइनेपानी स्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सवाल उठान गरी नेपाल विद्यार्थी संघले असोज ८ गते एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको विश्वविद्यालयले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग राखी उच्च अदालतमा रिट दायर गरेको र उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतको संयुक्त इजलासले भदौ २७ गते जारी गरेको अल्पकालीन आदेशलाई असोज ६ गते निरन्तरता दिइरहनु नपर्ने भन्ने आदेश भएको हुँदा निर्वाचनको मिति स्थगित गरिएको थियो । साथै कार्तिक २ गतेको लागि रिट दायर गर्ने निवेदकहरूलाई सम्मानित उच्च अदालतबाट तारेख तोकिएको हुँदा उक्त मुद्दा सम्मानित अदालतमा विचाराधीन रहेको हुँदा निर्वाचन मिति स्थगित गरिएको विश्वविद्यालयको भनाई छ ।
साथै तालाबन्दीले प्राध्यापक कर्मचारीहरूको तलब भत्ता निकासा लगायतका दैनिक आर्थिक प्रशासनिक काम कार्यवाहीहरू प्रभावित हुने भएकाले सम्मानित उच्च अदालतको अन्तिम फैसला विश्वविद्यालयमा प्राप्त भए पश्चात् विश्वविद्यालयमा क्रियाशील विद्यार्थी संघ संगठन र सरोकारवाला पक्षहरूको आपसी सहमतिमा अविलम्ब स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको नयाँ मिति र कार्यक्रम तोकी समयमै निर्वाचन गर्न गराउन विश्वविद्यालय तयार रहेको विश्वविद्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।



