टेक्नोलोजीको प्रयोग बारे विद्यार्थीलाई सिकाउँदै काठमाडौँ विश्वविद्यालय

काठमाडौं/६ असोज – विद्यार्थीले कक्षा कोठामा सिकेको कुरालाई व्यवहारिक पक्षमा कसरी प्रयोग गर्ने भन्ने उदेश्यले काठमाडौँ विश्वविद्यालयले टेक्नोलोजी सम्बन्धी एक दिने कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र इन्जिनियरिङ संकायको संयुक्त आयोजनामा सो कार्यशाला सञ्चालन गरिएको थियो ।


कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरू र विज्ञान शिक्षकहरूका लागि कार्यशालाको आयोजना गरिएको विश्वविद्यालयले जनाएको छ । किताबमा पढेका सैद्धान्तिक कुराहरूलाई प्रयोगात्मक रूपमा कसरी टेक्नोलोजीको प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला केन्द्रीत रहेको थियो ।


शिक्षकले भनेको सुनेर भन्दा पनि विद्यार्थीले सिधै त्यसको प्रयोग गर्दा उनीहरूको सिकाई सहज र प्रभावकारी हुने भएकाले कार्यशालाको आयोजना गरिएको स्कुल अफ एजुकेशनका डिन प्रा.डा बालचन्द्र लुइटेलले बताए ।

इन्जिनियरिङ संकायका एसोसिएट डिन डा.श्याम सुन्दर खड्काले कक्षा कोठामा मात्रै सिकेर व्यवहारिक शिक्षा नआउँने बताउँदै सोचाइमा रहेका कुरालाई व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने सिकाउने उदेश्यले कार्यशालाको आयोजना गरेको बताए । विद्यार्थीलाई यस्ता कार्यशाला निकै आवश्यकता रहेको र आफूले सिकेको कुरालाई समाजमा लैजान सके मात्रै सिकाईको सार्थक हुने उनको भनाई थियो ।


सिपिइसी संयोजक डा. पार्वती ढुङ्गानाले सिपिइसी अन्तर्गत विभिन्न सिकाईका क्रियाकलापहरू सञ्चालन गरिदै आएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीको सिकाईमा थप सहयोग पुग्ने भनाई राखिन । उनले विद्यार्थीले कक्षा कोठामा बसेर मात्रै पढ्ने भन्दा पनि काम गर्दै सिक्दै गर्नुपर्नेमा जोड् दिइन ।


उक्त कार्यक्रममा थ्रिडी डिजाइन र मोडेलहरू कसरी निर्माण गर्ने, इलेक्ट्रोनिक्स समानहरूको प्रयोग कसरी गर्ने र स्पेस नलेज, ग्रह भन्दा बाहिर के छ भन्ने मुख्य तीन कुरामा कार्यशाला सञ्चालन गरिएको थियो ।


मेकानिकल इन्जिनियरका आशिष् थापाले विद्यार्थीहरूले थ्रिडी डिजाइन कसरी बनाउने र यसको प्रयोग कसरी गर्ने भन्ने बारे विद्यार्थीलाई सिकाए । उनले विज्ञान विषयलाई जोडेर प्रयोगात्मक अन्तर्गतका सामाग्रीहरू विद्यार्थी आफैले निर्माण गर्न सक्ने र त्यसैलाई आधार मानेर सिकाइएको बताए ।

मेकानिकल इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत सुकल्प दास श्रेष्ठले इलेक्ट्रोनिक्स सामानको निर्माण कसरी भएको छ, कस्तो डिजाइन प्रयोग गर्ने, कुन सामाग्री केका लागि कहाँ प्रयोग गरिन्छ, सुरक्षित तरिकाले आफै सामग्री कसरी बनाउने लगायत माइक्रो कन्ट्रोलबाट प्रोजेक्ट, कोडिङ बनाउन सिकाइएको जानकारी दिए ।


त्यसैगरी विशाल कुमार सिलवालले स्पेश नलेजका बारेमा विद्यार्थीलाई जानकारी दिँदै ग्रहका बारेमा विद्यार्थीले कक्षा कोठामा पढेपनि त्यो भन्दा बाहिर के छ, तारा कसरी मर्छ, त्यो कहाँ जान्छ र ताराहरूको इतिहासका बारेमा विद्यार्थीलाई सिकाएको बताए ।


काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनको हलमा आयोजना गरिएको उक्त कार्यशालामा ४० विद्यालयका करिब २ सय भन्दा बढी विद्यार्थीहरूको सहभागीता रहेको थियो ।