काठमाडौं/६ असोज – विश्वविद्यालयहरूको गुणस्तर सुधार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतवार अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयको शैक्षिक क्यालेन्डर, पठनपाठन, परीक्षा, सम्बन्धन लगायतका योजना समेट्न र विश्वविद्यालयलाई गुणस्तरका दृष्टिले प्राज्ञिक स्थल बनाउन अनुरोध गरेकी छन् ।
नेपालका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्न विशिष्टीकृत योजना बनाउन मन्त्री भट्टराईले जोड दिइन ।
अन्तरक्रियामा सुदूरपश्चिम विश्वविद्यालयसँग आङ्गिक क्याम्पसको व्यवस्थापन, मर्जिङ र सम्बन्धन, योगदान र योग्यताका आधारमा सामाजिक सुरक्षा, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवम् विश्वविद्यालय, अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि त्रैमासिक प्रतिवेदन तयारी गर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय सँगको अन्तरक्रियामा शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, महत्वपूर्ण पुस्तकको डिजिटाइजेसन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवम् आयुर्वेद र स्थापत्य कला विषयको सञ्चालनका लागि जनशक्ति योजना र स्रोत साधनको अध्यापन गर्ने विषयमा छलफल भयो ।
त्रिभुवन विश्वविद्यालय सँगको अन्तरक्रियामा परीक्षा र प्रश्नपत्रमा सुधार, शैक्षिक क्यालेन्डरका आधारमा शिक्षण सिकाई तथा परीक्षा सञ्चालन, विश्वविद्यालयको पुनः संरचना, पाठ्यक्रम संरचना पुनरावलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको डिजिटाइजेसन र विश्वविद्यालयलाई विद्यार्थी र समाजको समुदायको नजिक पु¥याउने विषयमा छलफल भएको जनाइएको छ ।
विश्वविद्यालयको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनमा कसरी सुधार गर्न सकिन्छ भन्ने बारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयसँग अन्तरक्रिया गरी पृष्ठपोषण सङ्कलन गर्न सुरु गरेको हो । साथै आइतवार सुदूरपश्चिम, नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयसँग अन्तरक्रिया सम्पन्न भएको सो मन्त्रालयले जनाएको छ ।
अन्तरक्रियाका क्रममा विश्वविद्यालयको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउने, सम्बधन, विद्यार्थी÷प्राध्यापकका गुनासा सुनुवाइ र सम्बोधन, पाठ्यक्रम निर्माण तथा परिमार्जन, छात्रवृत्ति, प्राध्यापक कर्मचारीको सेवा सुविधा, जग्गा व्यवस्थापन लगायत विषयमा छलफल भएको मन्त्रालयको भनाई छ । छलफलमा विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालयका उपकुलपति र पदाधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य, विभिन्न विश्वविद्यालयका डिनहरू, मन्त्रालयका सचिव र कर्मचारीको सहभागिता थियो भने अन्तरक्रिया विश्वविद्यालयको प्रभावकारी व्यवस्थापन र शिक्षण सिकाइको गुणस्तर सुधारमा केन्द्रित रहेको थियो ।



