काठमाडौं/४ असोज – नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अब पनि विद्यालय शिक्षा ऐन जारी नगरे कडा आन्दोलनमा जाने तयारी भएको बताएका छन् । अबको हिउँदे अधिवेशनबाट कुनै पनि हालतमा विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने बताउँदै ऐन जारी गराउनका लागि नेपाल शिक्षक महासङ्घ दबाबपूर्ण आन्दोलन गर्ने तयारीमा रहेको बताएका हुन् ।
खबर एजुकेशनको प्रश्नमा उनले भने ‘नेपाल शिक्षक महासङ्घको चाहाना थियो यही अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी होस भन्ने । शिक्षा स्वास्थ्य तथा सूचना समितिमा लामो छलफल चलेका कारण छलफल टुङ्गिएन सुझाव सहित संसदमा फर्कन सकेन र जारी हुन सकेन । अब कुनै पनि हालतमा हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी हुनुपर्छ । त्यो जारी गराउनका लागि नेपाल शिक्षक महासङ्घ दबाबपूर्ण आन्दोलनको पक्षमा छ । हामीले राष्ट्रिय समितिको दोस्रो पूर्ण बैठकबाट विद्यालय शिक्षा ऐन जारी गराउन दबाब सिर्जना गर्ने उदेश्यले आन्दोलन गर्ने निर्णय गरेका छौँ ।’
सुवेदीले आन्दोलनको मिति र कार्यक्रमहरू विस्तारित कार्यालय बैठकबाट निर्णय गरेर तय गरिरने जानकारी दिए । यस पटक ऐन जारी नभए गत असोज ३ गतेबाट गरिएको आन्दोलन भन्दा ठुलो निर्णायक कडा आन्दोलन गर्ने र शिक्षा ऐन जारी गराउने अन्तिम निष्कर्षमा पुगेपछि मात्रै रोकिने गरी अगाडी बढ्ने बताए ।
शिक्षा मन्त्रीसँग निरन्तर भेटघाट हुँदा शिक्षा ऐन छिटो भन्दा छिटो ल्याउने र यसलाई व्यवस्थित गरेर अगाडी बढ्नु पर्छ भन्ने कुरा व्यक्त गरेको बताउँदै यसलाई सकारात्मक रूपमा लिएको उनको भनाई छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको उपसमिति बनाएर बुँदागत छलफल गराएर छिटो भन्दा छिटो प्रतिवेदन तयार गरेर संसदमा फिर्ता पठाइएन भने फेरिपनि ऐन आउनका लागि विलम्ब हुने भन्दै बल गरिदिन शिक्षा मन्त्रीलाई आग्रह गरेका छन् ।
नेपाल शिक्षक महासङ्घले आन्दोलन गरेर सरकारसँग सहमति गरिसकेको र त्यसका लागि नयाँ कुरा केही नभएको उल्लेख गर्दै सहमतिलाई सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने महासङ्घको एक सुत्रिय माग रहेको बताए ।
साथै तत्काल विद्यालय शिक्षा ऐन ल्याउन संविधान संशोधनको खाँचो नभएको उनको भनाई छ । आर्थिक कुराहरूको विषय पनि उठि रहेको सन्दर्भ उल्लेख गर्दै सरकारले आर्थिक रूपमा सक्छ वा सक्दैन भनेर अरू निकायले सोच्ने कुरा नभएको र यसमा राज्यले जिम्मा लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।



