काठमाडौँ /३ असोज – शैक्षिक गुणस्तर सुधार र शिक्षकहरूको पेसागत सिप अभिवृद्धि गर्ने उदेश्यले भक्तपुरका पाँच विद्यालयहरूमा शिक्षकहरूको लागि एक विशेष तालिम कार्यक्रमको सुरुवात गरिएको छ । फोर एस् एडुकेटर्स र काठमाडौँ विश्वविद्यालयको सहकार्य उक्त तालिमहरूको सुरुवात गरिएको हो ।
फोर एस एडुकेटर्स समूह अन्तर्गत विनायक शिक्षा निकेतन स्कुल, क्रिएटिभ लनर्स एकेडेमी, एडभान्स्ड एकेडेमी स्कुल, माउन्ट भ्यू ईङ्ग्लिस बोर्डिङ् स्कुल र इस्ट पोइन्ट एकेडेमी रहेका छन् ।
काठमाडौँ विश्वविद्यालयका सहायक डिन प्रोफेसर डा. हेमराज काफ्लेद्वारा समुद्घाटन गरिएको उक्त तालिममा १ सय १३ जना शिक्षकहरूले सहभागिता जनाएका थिए । तालिम कार्यक्रम काठमाडौँ विश्वविद्यालयको सिपिइसी केन्द्र अन्तर्गत विद्यालय शिक्षण प्रक्रिया रूपान्तरको पहलद्वारा सञ्चालनमा गरिएको थियो ।
प्रा.डा. हेमराज काफ्लेले तालिमको औचित्य र शैक्षिक रूपान्तरणको महत्वबारे चर्चा गर्दै विद्यालयहरूमा शिक्षकहरूको भूमिकालाई थप सशक्त बनाउन आवश्यक रहेकोमा जोड दिए । उनले यस्ता तालिमले शिक्षकहरूको शैक्षिक दक्षता र पेसागत सिपलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।
आबद्ध विद्यालयहरूका तर्फबाट प्रतिनिधित्व गर्दै विनायक शिक्षा निकेतन स्कुलका प्रधानाध्यापक सुरेन्द्र प्रजापतिले तालिमको उपलब्धता र यसले शिक्षकहरूलाई प्रदान गर्ने लाभका बारेमा प्रकाश पारे । कार्यक्रमको विषयवस्तु ‘Child Protection Policy and Professional Conductu रहेको थियो भने कार्यशालाको करिब ४ घण्टा सञ्चालन गरिएको थियो ।
प्रशिक्षणद्वारा बालबालिकाको सुरक्षा, उनीहरूका हक अधिकार र शैक्षिक वातावरणमा आवश्यक सुरक्षा नीति र प्रक्रिया अपनाउनुपर्ने महत्वबारे सहभागी शिक्षकहरूलाई जानकारी गराइएको थियो । साथै तालिममा सहभागी भएका पाँचवटै विद्यालयका शिक्षकहरूले तालिमबाट धेरै ज्ञान र सिप प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
यस किसिमको तालिमले शिक्षकहरूको कार्य दक्षता र विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको उनिहरूले प्रतिक्रिया दिए ।



