घोषणा भएका राष्ट्रिय शिक्षा पुरस्कारको प्रमाणपत्र इकाबाट वितरण गरिने

काठमाडौं/३१ भदौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ र २०८० मा घोषणा भएका राष्ट्रिय शिक्षा पुरस्कारको प्रमाणपत्र शिक्षा विकास तथा समन्वय इकाबाट वितरण गरिने जनाएको छ । २०८१ असोज २ गते मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवसको तयारी पूरा भएको जानकारी दिँदै २०८० मा घोषणा भएका उच्च शिक्षा तर्फको पुरस्कार भने अनुकूल समयमा प्रदान गरिने भएको छ ।


यस वर्षको राष्ट्रिय शिक्षा दिवसमा उत्कृष्ट सामुदायिक तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्रीको प्रमुख आथित्यमा सैनिक जनसम्पर्क निर्देशनालयमा आयोजना गरिएको हुने कार्यक्रमका पुरस्कृत संस्था तथा व्यक्तिहरूको नाम घोषणा हुने र प्रधानमन्त्रीबाट पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।


उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय पुरस्कार तर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालय तर्फ राष्ट्रिय स्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजा, क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने छ ।


त्यसैगरी प्राविधिक शिक्षालयतर्फ प्राविधिक शिक्षालयको गुणस्तर तथा क्रियाकलाप राम्रो भएका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्याङ्कन तथा सिफारिसको आधारमा विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।


उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालय अन्तर्गत आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसलाई दुई लाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने, उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिनेछ ।


समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभि एड्स सङ्क्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पु¥याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद पुरस्कार दुई दुई लाखसहित प्रशंसापत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।


साथै शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप प्रमाणपत्र प्रदान गरिने व्यक्तित्वहरूमा विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना; निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना; विव्यस पदाधिकारी विद्यालय कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जना प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँच जना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारी मध्येबाट पच्चिस जना रहेका छन् ।