बालबालिकाको अधिकार संरक्षणलाई उच्च प्राथमिकतामा राखेका छौँ : प्रधानमन्त्री

काठमाडौँ /२९ भदौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । ६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सो कुरा बताएका हुन् ।


राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारणले मात्र नभई बालबालिका देशको सवल भविष्यका आधार हुन् भन्ने मान्यताप्रतिको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको उनको भनाई छ ।


‘अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन बिताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने अभियान हामीले सञ्चालन गरेका थियौँ र त्यसलाई सफलतापूर्वक अगाडि बढाएका पनि थियौ । ’सडक बालबालिका मुक्त राष्ट्र’ अभियान अन्तर्गत यस आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने नीति सरकारले लिएको छ’ उनले भनेका छन् ।


त्यसैगरी बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरूलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।


बालबालिकाहरूका लागि सुरम्य पारिवारिक–सामाजिक वातावरण निर्माण गर्न सङ्घीय सरकारको प्रयास मात्र पर्याप्त नहुने र त्यसका लागि सबै तहका सरकार, राष्ट्र सेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा रहेको उनको भनाई छ ।


बालबालिका कागजका त्यस्ता खाली पाना भएको, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर बन्ने, बालबालिका सेतो कपडा भएको र तिनमा जस्तो रंग लगायो जीवनको अन्त्यकालसम्म नमेटिने त्यस्तै छाप बस्न बताउँदै सिर्जनाका आधारभूमि बालबालिकामा सवल र जनमुखी रंग भर्न राज्य मात्र होइन, अभिभावक, परिवार र समाजले आफ्नो नैतिक आचरण मार्फत सकारात्मक ज्ञान सम्प्रेषण गर्नु गर्ने यसका लागि अभिभावकहरूलाई यसतर्फ दायित्वशील हुन आह्वान गरेका छन् ।


बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आज ६०औँ राष्ट्रिय बाल दिवस देशव्यापी रूपमा मनाइदै छ ।