काठमाडौं/२० भदौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले वैदेशिक अध्ययनलाई थप व्यवस्थित बनाउनेतर्फ मन्त्रालयले काम थालेको बताएकी छन् ।
वैदेशिक अध्ययनको सवालमा देशमा गुणस्तरीय उच्च शिक्षा वातावरण निर्माणमा भएका नीतिगत नियमहरूको प्रभावकारी कार्यान्वयन सहित आवश्यक नयाँ ऐन र कानूनको पहिचान गरेर कार्ययोजना बनाउन लागिएको बताएकी हुन् ।
मन्त्री भट्टराईले बिहीबार मन्त्रालयले आयोजना गरेको रुसमा अध्ययन गर्न जाने विद्यार्थी र अभिभावकसँगको अन्तरक्रियामा आफ्नो धारणा राखेकी थिइन ।
रुससहितका देशमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई पूर्व जानकारी र सचेतना प्रदान गरेर मात्रै अध्ययन अनुमतिपत्र जारी गर्ने लगायतका विषयमा मन्त्रालयको ध्यान आकर्षित गरिएको उल्लेख गरिन ।
नेपाली विद्यार्थी मात्र होइन, विदेशका विद्यार्थी पनि नेपालमा अध्ययनका लागि आउने वातावरण निर्माण गर्न मन्त्रालय तयारीमा जुटीरहेको बताउँदै मन्त्री भट्टराईले वैदेशिक शिक्षालाई विशेषीकृत गर्ने खाका तयार गरिने बताइन ।
कार्यक्रममा प्राप्त सुझावहरूलाई समेटेर आवश्यक नीति र नियम निर्माण गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकी छन् । अन्तरक्रिया कार्यक्रममा रुसमा वैदेशिक अध्ययन गर्न जाने विद्यार्थी र तिनका अभिभावकहरूले सो सम्बन्धी विभिन्न सुझाव प्रदान गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।



