त्रिविद्धारा ८ संकायमा डीन र ११ क्याम्पस प्रमुखसहित विभिन्न पदमा आवेदन माग

काठमाडौँ/१७ भदौं – त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुख, डीन, विभागीय प्रमुख र सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरेको छ । ११ जना क्याम्पस प्रमुख र ८ संकायमा डीन लगायत विभिन्न पदमा नियुक्तिका लागि आवेदन मागेको हो ।


विश्वविद्यालयले सूचना जारी गर्दै विनियमका आधारमा नियुक्तिका लागि इच्छुक अध्यापकबाट दरखास्त माग गरेको छ ।सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, बुटबल बहुमुखी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, डोटी बहुमुखी क्याम्पस डोटी, पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुर, विश्वभाषा क्याम्पस काठमाडौं, सुर्खेत क्याम्पस (शिक्षा) र जुम्ला क्याम्पस गरी ११ क्याम्पसका लागि आवेदन मागेको छ । क्याम्पस प्रमुखका लागि आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ ।


त्यसैगरी ८ वटा संकायमा डीन नियुक्तिका लागि आवेदन मागिएको छ । त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयले विनियमअनुसार चिकित्सा शिक्षा अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, वन विज्ञान अध्ययन संस्थान, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायको डीनमा आवेदन मागेको छ । साथै शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशक नियुक्तिका लागि पनि आवेदन माग गरिएको छ । इच्छुक उमेद्वारले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।


त्रिविको परीक्षा नियन्त्रण कार्यालयसहित क्षेत्रिय कार्यालयमा ६ जना सहपरीक्षा नियन्त्रक नियुक्तिका लागि समेत रजिष्ट्रार कार्यालय अन्तर्गतको छनोट समितिले दरखास्त माग गरेको छ ।


परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २ जना तथा क्षेत्रीय कार्यालयहरु विराटनगर, पोखरा, नेपालगञ्ज र मधेस प्रदेश कार्यालयका लागि १/१ जना सहपरीक्षा नियन्त्रकका लागि आवेदन माग गरिएको हो । त्रिवि प्रिन्सिपल कार्यालय अन्तर्गत छनोट समितिले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभाग, लैङ्गिक अध्ययन विभाग र सामाजिक कार्य विभागका प्रमुख नियुक्तिका लागि समेत आवेदन माग गरेको छ ।