प्रि–डिप्लोमा तहको वार्षिक/अन्तिम परीक्षाको आवेदन फाराम खुला

काठमाडौं/११ भदौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहको नियमित आंशिक तर्फका विभिन्न कार्यक्रमहरूको वार्षिक/अन्तिम परीक्षाको आवेदन फाराम भर्न परीक्षार्थीलाई सूचना जारी गरेको छ ।


परिषद्बाट प्रि–डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा कार्यक्रम र निजी स्तरमा सम्बन्धन स्वीकृति प्राप्त सम्पूर्ण शिक्षालयहरूले नियमित तथा आंशिक प्रशिक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको हो ।


कार्तिक/मसिर महिनामा सञ्चालन हुने परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई नियमित शुल्काको हकमा भदौं ११ गतेदेखि ३० गतेसम्म र विलम्ब शुल्कको हकमा भदौं ३१ गतेदेखि असोज ६ गतेभित्र परीक्षा शुल्क बुझाएको बैंक भौचरको प्रति आवेदन फारामका साथ बुझाउनु पर्ने छ ।


तोकिएको समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरूलाई परीक्षामा सम्मिलित गराउन नसकिने सटिइभिटीले जानकारी दिएको छ ।


साथै प्रि–डिप्लोमा (साविकको प्राविधिक एस.एल.सी) तहमा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०८०/०८१ मा रजिस्ट्रेसन कायम भएका र प्रि–डिप्लोमा तहको २४ महिने औद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०७९/०८० मा रजिस्ट्रेसन कायम भएका प्रशिक्षार्थीहरूले समेत परीक्षा आवेदन फाराम भर्न भनिएको छ ।