विभिन्न बाहानामा शुल्क नउठाउन संस्थागत विद्यालयलाई निर्देशन

भरतपुर/१० भदौं-भरतपुर महानगरपालिकाले विद्यार्थीहरूबाट कुनैपनि शीर्षकमा शुल्क नउठाउन संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । संस्थागत विद्यालयहरूका शैक्षिक क्रियाकलापका बारेमा जनगुनासो आएपछि सो निर्देशन दिएको हो ।


विद्यालयमा पठनपाठन भइरहेको अवस्थामा महानगरपालिकाको स्वीकृति बिना विद्यार्थीहरूसँग शुल्क लिएर विभिन्न नाटक, फिल्म र प्रदर्शनीहरूमा विद्यार्थीहरूलाई सहभागी गराएको भन्ने गुनासो आएकोले शुल्क नउठाउन सबै संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ । त्यस्ता कार्यहरूको सान्दर्भिकता र औचित्य खुलाएर महाशाखाको स्वीकृति पश्चात् विद्यार्थीहरूबाट शुल्क बेहोर्नु नपर्ने गरी मात्र त्यस्ता कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागी गराउन पत्रमा उल्लेख छ ।


त्यसैगरी विभिन्न चाडपर्व, धर्म र संस्कृतिहरूको सन्दर्भ पारेर विद्यार्थीहरूलाई चाडपर्वहरूसँग सम्बन्धित पोसाक खरिदका लागि बाध्य नपार्न र विद्यालय आफैले नमुनाको रूपमा पोसाक व्यवस्थापन गरी शिक्षण सिकाई गर्न भनिएको छ ।


जारी पत्रमा भनिएको छ “कतिपय विद्यालयहरूले नव आगन्तुक विद्यार्थीहरूको स्वागत र विदाई कार्यक्रम ठूलो धनराशि खर्च गरी होटेल, रिसोर्ट र पार्टी प्यालेसहरूमा कलाकारहरू समेतलाई निमन्त्रणा गरी सञ्चालन गरिरहेको गुनासो प्राप्त भएकोले त्यस्ता कार्यक्रमहरूलाई भड्किलो रूपमा सञ्चालन नगरी विद्यालय हाताभित्र नै सङ्क्षिप्त रूपमा सञ्चालन गर्नुहुन अनुरोध छ ।”


साथै महानगरले जारी गरेको स्थानीय पाठ्यक्रम “हाम्रो गौरव, हाम्रो भरतपुर“ को प्रयोग नगरी अन्य पाठ्यपुस्तक विद्यालयमा प्रयोग नगर्न विद्यालयहरूलाई सचेत गराउँदै निर्देशनलाई अवज्ञा गरे कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।