शिक्षा र मित्रताको यात्रा : अन्तर–सांस्कृतिक आदानप्रदान र सहकार्यात्मक सिकाइ

काठमाडौँ /१० भदौं – काठमाडौँ विश्वविद्यालय र जापानको गुन्मा विश्वविद्यालयले संयुक्त रूपमा आयोजना गरेको तीन क्रेडिटको पाठ्यक्रम ’अन्तर–सांस्कृतिक आदानप्रदान र सहकार्यात्मक शिक्षा’ को १० दिने यात्रा सार्थक रूपमा सम्पन्न भएको छ ।


काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनको सिपिईसी अन्तर्गत पूजा डङ्गोलको सहजीकरणमा सम्पन्न यो कार्यक्रममा दुवै विश्वविद्यालयका १८ विद्यार्थीहरू सहभागी भएका थिए । कार्यक्रमले विद्यार्थीकाबिच सिकाई र सांस्कृतिक अनुभव सिर्जना गरेको छ ।


दश दिनको अवधिमा विद्यार्थीहरूले चार मोड्युलहरूमा अध्ययन गरे जसलाई अन्तर–सांस्कृतिक आदानप्रदानको आधार तयार गर्न ध्यानपूर्वक डिजाइन गरिएको थियो । यसले शैक्षिक अभ्यास मात्र नभई नेपाली संस्कृति समाज र समसामयिक अवस्थाका बारेमा बुझन सहज भएको उनीहरूको भनाई छ ।

मोड्युलहरू मार्फत नेपाली संस्कृति बुझ्न, नेपाली समाज बुझ्न, दिगो विकास लक्ष्य (SDGs) मा समसामयिक मुद्दाहरू र परियोजना कार्य लगायतमा विद्यार्थीहरूले विषयवस्तु विज्ञहरूसँग संलग्न भएर व्यावहारिक अनुसन्धानमा भाग लिएका थिए ।


उक्त पाठ्यक्रमले बुझाई, सहकार्य र विचारहरूको आदानप्रदानलाई प्रवर्धन गर्न अमूल्य भूमिका खेलेको छ । जसले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गरेर जीवन्त बनाउन सहयोग पुगेको छ ।


विद्यार्थीहरूले काठमाडौँ उपत्यकामा विभिन्न सांस्कृतिक र ऐतिहासिक स्थलहरूको स्थलगत अनुसन्धान तथा अवलोकन गरेका थिए । उनीहरूले पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, कुमारी घर, बौद्धनाथ स्तुप, युलेंस स्कुल, शान्ति शिक्षा मन्दिर स्कुल, केयू धुलिखेल, पाटन अस्पताल, बुढानीलकण्ठ, शिवपुरी राष्ट्रिय निकुञ्ज र फूड फर लाइफ लगायतको अवलोकन गरेका थिए । भ्रमणले उनीहरूलाई नेपालको समृद्ध, सांस्कृतिक सम्पदा र यहाँका मानिसहरूको दैनिक जीवन नजिकबाट बुझ्न सहज भएको थियो ।


यस पाठ्यक्रमको प्रमुख आकर्षण मध्ये विद्यार्थीलाई शिक्षक र स्थानीय समुदायसँग प्रत्यक्ष रूपमा संलग्न हुने अवसर थियो । युलेंस स्कुल र शान्ति शिक्षा मन्दिर स्कुलमा, विद्यार्थीहरूले स्थानीय विद्यार्थीहरूसँग ज्ञान आदानप्रदान गर्दै विभिन्न गतिविधिहरूमा भाग लिएका थिए ।


त्यसैगरी उनीहरूले पाटन अस्पतालमा विरामीहरूका लागि उपलब्ध सेवा सुविधाका बारेमा अवलोकन गर्नुका साथै कर्मचारीहरूसँग अन्तरक्रिया गरेर नेपालको स्वास्थ्य प्रणालीको बारेमा जानकारी लिए भने फूड फर लाइफमा खाना तयार गर्ने प्रक्रियाको अवलोकन गरे ।


अन्तिम दिनमा विद्यार्थीले पाठ्यक्रम अन्तर्गत सो अवधिमा गरेका आफ्ना अवलोकन तथा अनुसन्धान परियोजना बारे आफ्नो बुझाई र सिकाई सम्बन्धी प्रस्तुत गरे । प्रस्तुतिमा उनीहरूले पहिचान गरेका समस्यालाई उजागर गर्दै व्यावहारिक समाधानहरू प्रस्तावित गरेका थिए । साथै उनीहरूको प्रस्तुतिमा शिक्षाको गहिराइ र अन्तर–सांस्कृतिक आदानप्रदानको प्रभावकारिता झल्किएको थियो ।


पाठ्यक्रमभरि, जापानी विद्यार्थीहरूले नेपाली संस्कृतिलाई यति आत्मसात् गरे कि उनीहरूले “नमस्ते,“ “धन्यवाद,“ “सन्चै छ,“ “मेरो नाम…,“ “म तिम्लाई माया गर्छु,“ र “ए कान्छा“ जस्ता नेपाली वाक्यांशहरू प्रयोग गर्न थालेका थिए । यी शब्दहरूको प्रयोगले सांस्कृतिक आदानप्रदान कार्यक्रमलाई थप प्रभावकारी र आत्मीयता बढाएको थियो भने सहभागीहरूमा यसले गहिरो प्रभाव पारेको छ ।


यो कार्यक्रमले दुवै विश्वविद्यालयका विद्यार्थीहरू बिचमा बलियो सम्बन्ध बनाएको छ भने भर्चुअल छलफल मार्फत सहकार्य र सिकाईलाई निरन्तरता दिने उनीहरूले बताएका छन् ।