शैक्षिक सत्र सकिएपछि मात्रै ‘द चाँदबाग स्कुल’ खाली गर्छौ : निजी विद्यालयहरू

काठमाडौँ /७ भदौं – दुई दिन भित्र द चाँदबाग स्कुलको भौतिक संरचना हटाई खालि गर्न भनिएको प्रति प्यब्सन, एन प्यब्सन र इष्टुले आपत्ति जनाएका छन् । संविधानको मर्म विपरीत काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बलले माइकिङ गरेर खालि गर्न भनेको भन्दै आपत्ति जनाएका हुन् ।


संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा ३९ को उपधारा २ र ७ को मर्म विपरीत काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल बागदरवार, काठमाडौँबाट गत श्रावण २७ गते “द चाँदबाग स्कुल“ प्रा. लि. बाँसबारीको परिसरमा पुगी सरकारी स्वामित्वको भवन भएका कारणले २ दिनभित्र द चाँदबाग स्कुलको निर्माण गरिएका सम्पूर्ण सर समान तथा निर्माण भएका भौतिक संरचना हटाई खालि गरिदिनु हुन माइकिङ गरिएको प्रति आपत्ति जनाएका छन् ।


वर्तमान नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक हकका रूपमा स्थापित गरिसकेको र धारा ५०.३ ले राज्यका नीति निर्देशक सिद्धान्त अन्तर्गत सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागितालाई सुनिश्चित गर्दै नेपाल सरकार मन्त्री परिषद्को २०६८ जेष्ठ ११ गतेको निर्णय अनुसार विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरी विद्यालय क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ कार्यान्वयनमा रहेको विज्ञप्तिमा उल्लेख छ ।


हाल विद्यालयको शैक्षिक सत्र समाप्त नभएको अवस्थामा कुनै पनि बाहानामा विद्यालय खाली गर्ने निर्देशन नदिन माग गरेका छन् । साथै आदेशले विद्यार्थी, अभिभावक, शिक्षकहरूलाई त्रसित पार्ने भएकाले शैक्षिक सत्रको अन्त्यपछि मात्र विद्यालय खाली गरिने यसै विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।


विज्ञप्ति भनिएको छ ‘काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराउँदै बालबालिकालाई भयरहित वातावरणमा पठनपाठन गर्न पाउने अधिकार सुनिश्चित गर्न अनुरोध गर्दै वार्ता संवादका माध्यमबाट समस्याको समाधान खोज्न अपिल गर्दछौँ । पाटन उच्च अदालतका माननीय न्यायधीस श्री टिकाराम आचार्यज्यूको एकल इजलासले मिति २०५१ भाद्र २ गते उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश समेत जारी गरिसकेको अवस्थामा सम्मानित अदालतको आदेशलाई पालना गर्न हामी सरोकारवाला कटिबद्ध रहेको समेत जानकारी गराउँदछौँ ।’