उत्कृष्ट क्याम्पसको खोजीमा विश्वविद्यालय अनुदान आयोग

काठमाडौं/७ भदौं – विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनौटका लागि आवेदन माग गरेको छ । उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न विश्वविद्यालयका आंगिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका सामुदायिक र निजी (प्राइभेट) क्याम्पसबाट आवेदन माग गरेको हो ।


राष्ट्रिय शिक्षा दिवसको अवसरमा “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७“ को दफा १६ मा भएको व्यवस्थाअनुसार २०८१ असोज २ मा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न आवेदन मागेको सूचनामा उल्लेख छ ।


सामुदायिक र निजी (प्राइभेट) क्याम्पसले आ–आफ्नो दावीसहित तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचामा भदौ १६ गते ( कार्यालय समयभित्र ) आइपुग्ने गरी यस आयोगमा आवेदन दिनका सकिने छ । आवेदन फारम छनौटको मापदण्ड तथा अन्य जानकारी आयोगको वेवसाइटबाट “नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७“ डाउनलोड गरी प्राप्त गर्न सकिने छ ।


म्याद नाघी, तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचा बाहिर रही तथा आवश्यक कागजातहरू संलग्न नभएका निवेदनउपर कारबाही गर्न आयोग बाध्य नहुने जनाएको छ । पुरस्कृत १ आंगिक क्याम्पस, १ सम्बन्धनप्राप्त सामुदायिक क्याम्पस, १ सम्बन्धनप्राप्त निजी (प्राइभेट ) क्याम्पसलाई गरिने छ ।