त्रिभुवन विश्वविद्यालयमा पनि दुई तिहाइको सरकार छ : सुमना श्रेष्ठ

काठमाडौंँ/५ भदौँ – पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा पनि दुई तिहाइ सरकार रहेको बताएकी छन् । विश्वविद्यालयमा विद्यार्थी संघ, प्राध्यापक संघ रहेको र उनीहरूलाई सङ्घीय सरकारका दुई तिहाइको बहुमतको सरकार बनाएका ठुला दलको आशीर्वाद रहेको भन्दै दुई तिहाइ सरकार रहेको बताएकी हुन् ।


श्रेष्ठले सामाजिक सञ्जाल मार्फत राजनैतिक भातृ संगठनहरू राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो लगायत सबै गर्ने औजार रहेको धारणा व्यक्त गरेकी छन् । साथै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेको बताएकी छन् ।


यस्तो छ उनको भनाई


त्रिविमा पनि दुई तिहाइ सरकार छ –एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ । अनि सबै सङ्घले पाएको छ सङ्घीय सरकारका दुई तिहाइको बहुमतले सरकार बनाएका ठुला दलका आशीर्वाद ।


त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो – सबै गर्ने औजार हो राजनैतिक भातृ संगठन !


दुई तिहाइको सरकारले के दियो ? स्थायित्व कता गयो ? गुन्डाहरूको मनोबल किन बढेको ? विधिको शासन कता गयो ? कसको आडमा ? कसको प्रसयमा ?


अनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको सुरक्षाको माग छ, जनतासँग – बहस चलोस भनेर रे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोबलका साथ पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने ? दशकौँदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिकी राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने ? अब के जनताले राजनैतिक प्रसय पाएका गुन्डासँग भिड्न आउनुपर्ने हो ?


वास्तवमा, काम गर्यो भने सकिन्छ । उदाहरण थुप्रै छन् । अहिलेको दुई तिहाइको सरकारका मन्त्रीलाई किन यस्तो आनाकानी? समस्या समाधान गर्नु छैन भन्ने बुझ्नु पर्ने हो ?


यसै विषयमा मैले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापतिज्यूलाई आकस्मिक बैठक बोलाउन अनुरोध गरेकी छु । दलीय राजनीति मुक्त शिक्षा क्षेत्र बनाउनुहोस् । देशले यो भन्दा बढी कति गुमाउन पर्ने हो ? अझै कति पुस्ताले यो हविगत बेहोर्नु पर्ने हो ?


No ‘if’ no ‘but’
दलीय राजनीति शिक्षा क्षेत्रबाट CUT!