दिवा खाजा : विद्यालयलाई निल्नु न ओकल्नु

काठमाडौँ /४ भदौ – शुक्रवार विश्व निकेतन माध्यमिक विद्यालयमा पुग्दा ठुला ठुला भाडामा खिर पाक्दै थियो । शुक्रवारको दिवा खाजाको तालिका अनुसार शिशुदेखि कक्षा ४ सम्म मौसम अनुसारको एक फल र खिर थियो । कक्षा ५ देखि १० सम्म मौसम अनुसारको एक फल, आलु चप अथवा भुटेको भात थियो ।


जसमा दिवा खाजा संयोजक उर्मिला मानन्धर (डङ्गोल)लाई तोकिएको छ भने विद्यालय नर्स सिता दाहाल र हेरम्वराज कडेल सहितको हस्ताक्षर रहेको विद्यालय दिवा खाजाको तालिका सबैले देख्ने गरी भित्तामा टासिएको छ ।


तालिका अनुसार आइतवार शिशुदेखि कक्षा ३ सम्म जाउलो गेडागुडी, घिउ, मेथी, तरकारी हालेको र कक्षा ४ देखि १० सम्म चिउरासँगै राजमा मिक्स तरकारी राखिएको छ । सोमवार खीर र अचार, मंगलबार पुरी, आलु बोडीको तरकारी वा दही चिउरा, बुधवार चना अण्डा तोकिएको छ भने आलु चना शाकाहारीलाई दिइने तालिका छ । बिहीबार सेल तरकारी (आलु), शुक्रवार शिशुदेखि कक्षा ४ सम्म मौसम अनुसारको एक फल, खीर र कक्षा ५ देखि १० सम्म मौसम अनुसारको एक फल, आलु चप अथवा भुटेको भात दिइने छ । साथै तलिकामा नतोकिए पनि कहिलेकाहीँ कुखुराको मासु दिइने गरेको एक शिक्षकले जानकारी दिए ।

हरेक दिन दिवा खाजा सबै भन्दा पहिला दिवा खाजा संयोजकले चाख्ने र पाके नपाकेको एकिन गरेर मात्रै विद्यार्थीहरूलाई उपलब्ध गराइएको शिक्षकले बताए ।


विद्यार्थीका लागि सरकारले कक्षा ५ सम्म उपलब्ध गराएको दिवा खाजाको रकम अपुग रहेको टिप्पणी भइरहेको सन्दर्भमा विश्व निकेतन माध्यमिक विद्यालयलाई काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको रकमले दिवा खाजाका लागि निकै सहज भएको विद्यालयका प्रधानाध्यापक हेरम्वराज कडेलले बताए ।


देशका अन्य सामुदायिक विद्यालयहरूले रकम अपुगका कारण दिवा खाजा खुवाउन नसकिने बताइरहँदा काठमाडौँ महानगर भित्रका विद्यालयहरूले कक्षा १० सम्मकै विद्यार्थीहरूलाई दिवा खाजा खुवाइरहेका छन् । बालविकासदेखि ५ कक्षासम्म सरकारले उपलब्ध गराएको प्रति विद्यार्थी १५ रुपैयाँमा थप रु १५ गरी ३० रुपैयाँ उपलब्ध गराएको छ भने कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई महानगर आफैले प्रति विद्यार्थी ३० रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।


सरकारले स्थानीय स्तरमा उत्पादन भएका खाद्य वस्तुहरूको उपयोग गरी विद्यालयले साप्ताहिक रूपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने उदेश्यले लागु गरेको दिवा खाजा पछिल्लो समय विद्यालयहरूलाई समस्या पर्ने गरेको छ । सरकारले उपलब्ध गराएको १५ रुपैयाँले सामान्य खानेकुरा पनि किन्न नपुगेपछि विद्यालयहरूले बजारबाट तयारी प्याकेटका खाजा खरिद गरी खुवाउन बाध्य भएको गुनासो छ ।


सङ्घीय सरकारले रकम नबढाउने, स्थानीय तहहरूले अपुग रकम नथपिदिने, दिवा खाजाका सन्दर्भमा सहयोग नगर्ने र सङ्घीय सरकारको जिम्मेवारी भन्दै तर्किएपछि विद्यालयहरू अप्ठेरोमा पर्ने गरेको उनीहरूको गुनासो आउने गरेको छ । स्थानीय तहहरूले सहयोग गरेका विद्यालयहरूलाई भने सहज हुने गरेको विद्यालयहरू बताउँछन् ।


प्रारम्भिक तहदेखि कक्षा ५ सम्मका ३० लाख बालबालिकाका लागि दिवा खाजा कार्यक्रमलाई सरकारले यो आर्थिक वर्षमा ८ अर्ब ३९ करोड रकम विनियोजन गरेको छ ।