शिक्षक संगठनको निर्णय : अवैधानिक निर्णय नसच्याए शिक्षक महासङ्घमा नजाने

काठमाडौँ /४ भदौं – नेपाल राष्ट्रिय शिक्षक संगठनले नेपाल शिक्षक महासङ्घमा भएका अवैधानिक निर्णयहरू नसच्याएसम्म महासङ्घमा आबद्ध नहुने निर्णय गरेको छ । भदौँ १ गते संगठनको २३ औँ राष्ट्रिय परिषद्को बैठकले विधान विधि र पद्धति विपरीत गरिएका निर्णयहरू नसच्याएसम्म महासङ्घमा आबद्ध नहुने निर्णय गरेको हो ।


नेपाल शिक्षक महासङ्घका पदाधिकारी अवैधानिक तरीकाले घोषणा गरिएको र महासङ्घमा अवैधानिक क्रियाकलाप भएकोले त्यसलाई पुनर्विचार गरेर अगाडी बढ्ने सहमति गरे मात्रै महासङ्घमा आबद्ध हुने २३ औं राष्ट्रिय परिषद्को बैठकको निर्णय रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हंस बहादुर शाहीले बताए ।


महासङ्घको प्रमुख घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले महासंघमा अवैधानिक क्रियाकलाप भएको भन्दै महाधिवेशनमा आबद्ध भएको थिएन । संगठनले वैशाख २७ गते घोषणा गरिएको नेपाल शिक्षक महासङ्घका पदाधिकारी अवैधानिक तरीकाले घोषणा गरेको भन्दै विरोध गर्दै आएको छ । त्यसयता संगठन महासङ्घको कुनै पनि क्रियाकलापमा सहभागी भएको छैन ।


स्थानीय र जिल्ला तहमा २०७८ साल पछि नयाँ नियुक्त भई सदस्यता ग्रहण गरेका शिक्षकहरू अधिवेशनमा भाग लिन पाउनुपर्ने, प्राविधिक धारका शिक्षक सदस्यहरू अधिवेशनमा सहभागी गराउनु पर्ने, महासङ्घको विधान विपरीत धेरै जिल्लाहरूमा एक पक्षीय ढङ्गले जिल्ला समितिहरू घोषणा गरिएको र यसलाई सच्याउनु पर्ने लगायतका माग संगठनका छन् ।