काठमाडौँ /१ भदौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडी शिक्षकहरू माथि दमन चक्र चलाइएको बताएका छन् । राष्ट्रिय शिक्षक संगठनको २३ औं राष्ट्रिय परिषद्को बैठकमा सम्बोधन गर्दे नेपालको राजनीति परिवर्तनमा शिक्षकहरूको योगदान बुझ्दै नबुझेकाले दमन चक्र चलाइएको बताएका हुन् ।
उनले भने “नेपालका शिक्षकहरूको असाधारण भूमिका रहेको छ, दुर्गम भन्दा दुर्गम ठाउँमा पुगेर जागरण ल्याएका शिक्षक हुन् । शिक्षकहरूको सङ्घर्षको इतिहास बुझ्दै नबुझेका, नेपालको राजनीति परिवर्तनमा शिक्षकहरूको योगदान बुझ्दै नबुझेका र यदी समस्या छ भने त्यसको समाधान पनि संवादबाट मित्रतापूर्ण रूपमा गर्नुपर्छ भन्ने कुरा सोच्दै नसोचि शिक्षकहरू माथि आजको समयमा पनि एकतर्फी ढंगले दमन चक्र चलाउने प्रयास केही अगाडी मात्रे पनि भयो ।”
उनले शिक्षकहरूलाई राजनीति गर्ने आरोप लाग्ने गरेको बताउँदै त्यस प्रति चिन्तित हुन नपर्ने बताएका छन् । साथै शिक्षकहरूका कुनै समस्या भए सरकार र शिक्षकले साम्बाद गरेर समस्या समाधान गर्न सकिने, त्यसप्रति शिक्षकलाई ढुक्क हुन आग्रह गरे ।
सरकारका सय दिनको उपलब्धिहरू हेर्दा ८ सय २५ जना शिक्षकहरूलाई घुँडा टेकाए, राजीनामा गराए, झुकाए, राजनीतिबाट अलग गराए भन्ने जस्ता कुराहरू आएको बताउँदै प्लेटोकै बेलामा मानिस राजनीतिक प्राणी हो भन्ने कुरा नबुझेको उनको आरोप छ ।
शिक्षक मतको पुरै समर्थन भएर अध्यापन जस्ता कुराहरूमा आफ्नो कर्तव्य पालनामा कमी ल्याएको छ भने त्यस्तो विषय उठ्नु स्वभाविक भएको त्यस्तो गर्न नहुने तर शिक्षकहरूलाई निष्काशन गर्ने जस्ता प्रवृत्ति गरिएको बताए । “म सरकारका तर्फबाट भन्न चाहन्छु शिक्षक सरकारका शत्रु होइनन्, सरकारले शिक्षक माथि जाइलाग्नु पर्ने कुनै कारण छैन । सरकारले शिक्षकहरू माथि दमन गर्न मिल्दैन” उनले भने ।
साथै नेपाल राष्ट्रिय शिक्षक संगठनलाई ताकेरै लखेट्ने प्रयासहरू भएको उनको भनाई छ ।



