काठमाडौं/२ भदौँ – नेपाल इन्जिनियरिङ कलेजले नयाँ भर्नाका लागि शनिवार प्रवेश परीक्षा लिएको छ । कक्षा १२ उतीर्ण गरेका विद्यार्थीलाई कलेजमा स्नातक तहमा इन्जिनियरिङ विभिन्न कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको हो ।
छोटो समयको अन्तरालमा विभिन्न समस्याका बाबजुद पनि प्रवेश परीक्षामा उत्साहजनक रूपमा विद्यार्थी सहभागी भएको कलेजका प्राचार्य एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
कलेजमा स्नातक तहमा विभिन्न विधामा गरी कुल चार सय ८० जनाको सिट क्षमता रहेको छ । स्नातक तहमा सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन, इलेक्टोनिक्स एण्ड इलेक्टिकल, सिभिल फर डिप्लोमा होल्डर्सका इन्जिनियरिङका स्नातक तहमा पढाई हुँदै आएको छ ।
नाफा नलिने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायण नगरपालिका दुवाकोट भक्तपुरमा सञ्चालित यो कलेज स्थापना भएको तीस वर्ष भएको छ । कलेज पोखरा विश्वविद्यालयबाट सञ्चालित छ ।



