काठमाडौँ/१ भदौँ -विद्यालयका शिक्षकहरूको पेसागत सीप अभिवृद्धि गर्ने उदेश्यले काठमाडौँको बुढानीलकण्ठ ४ मा रहेको नेशनल ब्लूमिङ्ग फ्लावर एकाडेमी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सहकार्यका लागि सहमति भएको छ ।
एकाडेमीका प्रधानाध्यापक शर्मीला केसी तथा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुँइटेलकाबिच एक आपसमा विद्यालयको आवश्यकता पहिचान, कार्ययोजना, कार्यशाला कार्यक्रमहरूको कार्यान्वयन, निरन्तर अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण र सहयोग तथा कार्यसम्पादनका लागि सहकार्य गर्ने सहमति भएको हो । सम्झौता पत्र हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको हो ।
प्रा.डा. लुइटेलले यस सहकार्यबाट शिक्षकको पेसागत सीप अभिवृद्धि, विद्यार्थीको शैक्षिकस्तर सुधार तथा २१औँ शताब्दीका सीपहरू एवं सेवा आदानप्रदान हुने कुरा व्यक्त गरे । विद्यालयका तर्फबाट विद्यालयका कार्यकारी निर्देशक जगत शेखर ढकालले विश्वविद्यालयसँगको यस सहकार्यले शिक्षक, विद्यार्थी एवम् विद्यालयको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास रहेको बताए ।
विद्यालयका प्रमुख वित्तीय अधिकारी विनोद केसीेले विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको र यसका लागि शिक्षकहरू निरन्तर सक्रिय सिकारुको रूपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए । साथै शिक्षण सिकाईका गतिविधिहरूमा परिवर्तनकारी नवीनतम लक्ष्य हासिलका निमित्त पनि विश्वविद्यालय सँगको सहकार्य अपरिहार्य रहेको केसीको भनाई छ ।



