काठमाडौँ /१ भदौं – काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनधिकृत व्यक्तिहरू प्रवेश गरी विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा असर पर्ने कार्यहरू गरेको जानकारी दिँदै अनधिकृत व्यक्ति वा समूहहरूलाई विद्यालय परिसरभित्र प्रवेश नदिन निर्देशन दिएको छ ।
विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने र स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न महानगर भित्रका विद्यालयलाई निर्देशन दिँदै अनधिकृत व्यक्ति वा समूहहरूलाई प्रवेश निषेध गरेको हो ।
विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ कार्यान्वयनमा रहेको स्मरण गराउँदै महानगरले सबै विद्यालयलाई निर्देशन दिएको छ ।
यदि अनधिकृत व्यक्ति तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बललाई सम्पर्क गर्न समेत भनिएको छ ।




