शिक्षकहरूको ग्रेड निजामती सरह समायोजन गर्न शिक्षक संगठनको माग

काठमाडौँ /२८ साउन – नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षकहरूको ग्रेड निजामती सरह समायोजन गर्नुपर्ने माग राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई भेटेर निजामती कर्मचारीहरूको मर्यादाक्रम अनुसारको तलब समायोजन हुँदा सोही अनुसार शिक्षकको तलबमानमा समायोजन गर्न माग राखेको हो ।


शिक्षा मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्राथमिक शिक्षक तृतीय श्रेणीको खाइपाइ आएको ग्रेड ६ रहेको र ८ ग्रेड हुनुपर्नेमा ४ ग्रेड फरक परेको, प्राथमिक शिक्षक द्वितीय श्रेणीको खाइपाइ आएको ग्रेड ८ रहेकोमा १० ग्रेड हुनुपर्ने २ ग्रेड फरक परेको, निम्न माध्यमिक शिक्षक तृतीय श्रेणीको खाइपाइ आएको ग्रेड ८ रहेकोमा १० ग्रेड हनुपर्ने २ ग्रेड फरक परेको र माध्यमिक शिक्षक प्रथम श्रेणीको खाइपाइ आएको ग्रेड ६ रहेकोमा ७ ग्रेड हुनुपर्ने १ ग्रेड फरक परेको उल्लेख गरेको छ ।


त्यसैगरी राहत, बालविकास शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धार, पेन्सन वञ्चित, सबै प्रकारका अस्थायी छुट करार, तीन तहकै अनुदान शिक्षक, सामुदायिक विद्यालयका निजि स्रोत शिक्षक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, विद्यालय नर्स तथा विभिन्न प्रशिक्षकहरू लगायत शिक्षा क्षेत्रमा काम गर्ने अस्थायी प्रकृतिका शिक्षाकर्मीहरूलाई स्थायी शिक्षक सरहको तलब र योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध गर्न आग्रह गरेको छ ।
हाल कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिवा खाजाका लागि १५ रुपैयाँका दरले उपलब्ध गराइएकोमा त्यसलाई वृद्धि गरी प्रति विद्यार्थी ५० रुपैयाँ उपलब्ध गराउन र त्यसलाई कक्षा १२ सम्म विस्तार गर्नु पर्ने माग गरेको छ ।


सङ्घीय बजेटले समय सापेक्ष प्र.अ. भत्ता बृद्धि तथा शिक्षकहरूको ग्रेड समायोजनको व्यवस्था गर्न नसकेको, राष्ट्रिय दरबन्दी मिलान कार्यदल २०७५ले दिएको सुझाव बमोजिम विषयगत दरबन्दी अभावलाई सम्बोधन नगरेको, शिक्षक विद्यार्थी अनुपातको आधारमा राष्ट्रिय स्तरको दरबन्दी मिलान गर्ने तर्फ कुनै ठोस धारणा नल्याएको र सङ्घीय शिक्षा ऐन ल्याउन तर्फ पहल नगरेको संगठनले जानकारी गराएको छ ।


यस वर्ष पनि सङ्घ, प्रदेश र स्थानीय तहको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा परेको देखिएन । शिक्षामा कुल बजेटको २०% छुट्याइनु पर्नेमा विगत भन्दा घटेर आएको छ । शिक्षकहरूलाई प्रोत्साहित गर्ने कुनै पनि कार्यक्रमहरू ल्याइएको छैन । विगत लामो समय देखि न्यून पारिश्रमिकमा काम गरिरहेका बालविकास शिक्षक र विद्यालय कर्मचारीहरूको श्रम कानुनले तोके बमोजिमको न्यूनतम पारिश्रमिकलाई पनि सम्बोधन गरिएन र पेन्सन वञ्चित शिक्षकहरूलाई साविककै शिक्षा ऐन अनुसारको स्थायी शिक्षकले पाउने पेन्सन तथा उपदानको व्यवस्था गर्नु पर्नेमा सङ्घीय बजेट बेखबर देखियो शिक्षा मन्त्रीलाई बुझाइएको पत्रमा भनिएको छ ।


साथै शिक्षा ऐन आवश्यकता भएको सन्दर्भमा पुरानै ऐन अनुसारका नियमावली तथा निर्देशिकाहरू जारी गरि सरुवा प्रक्रिया थप झन्झटिलो, बोझिलो, लामो समय लाग्ने र शिक्षकलाई आजीवन घरपायक सरुवा हुनबाट वञ्चित गराइएको बताउँदै विगत देखि अभ्यासमा रहेको पारस्परिक सरुवाको अपव्याख्याले शिक्षकहरू थप मर्कामा परेको उल्लेख छ ।


शारीरिक रूपमा अशक्त तथा फरक क्षमता भएका शिक्षक, बालविकास, राहत, प्राविधिक धारका शिक्षक, साविक उच्च मा.वि. का शिक्षक तथा महिला शिक्षकहरूलाई घरपायकको सरुवाको व्यवस्था गर्नुपर्ने संगठनको धारणा रहेको जनाएको छ ।