काठमाडौँ /२ साउन – नेपाली राजदूतावास, ढाकाले बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजि विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयका कारण सुरक्षित रहन आग्रह गरेको हो ।
नेपाली राजदूतावास, ढाकाले सूचनामा भनेको छ बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपका कारण बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजि विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।
साथै, कारणवश कलेज प्रशासनले होस्टलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकूल भएमा राजदूतावासलाई सम्पर्क गर्न र समन्वय गर्न भनिएको छ ।
राजदूतावासले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरूको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरू एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको सूचनामा उल्लेख छ ।




