काठमाडौँ /२ साउन – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको लिखित परीक्षा पुनः सञ्चालन गर्ने भएको छ । विशेष कारण देखाउँदै स्थगित गरिएको उपप्राध्यापक पदको लिखित परीक्षा पुनः सञ्चालन गर्ने भएको हो ।
त्रि.वि. सेवा आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते उपप्राध्यापक पदको लिखित परीक्षाका लागि विज्ञापन प्रकाशित गरेको थियो । विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको लिखित परीक्षा विशेष कारण देखाउँदै स्थगित गरेको थियो ।
उक्त स्थगित लिखित परीक्षा आगामी भाद्र ५ गते देखि विभिन्न चरणमा सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ । प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुने र अन्य अध्ययन संस्थान र संकायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ ।
साथै परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेवसाईट www.tusc.tu.edu.np तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।