काठमाडौँ/२९ असार – एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा २११औँ भानुजयन्तीको अवसरमा स्रष्टा सम्मान गरेको छ । बिहिवार एपेक्स लाइफ स्कुलमा एक कार्यक्रमको आयोजना गरी समाजसेवी तथा साहित्यकार डा. महेश्वर शर्मालाई सम्मान गरेको हो ।
९४ वर्षका शर्मा साहित्यका क्षेत्रमा निरन्तर सक्रिय भई नेपाल राष्ट्र तथा नेपाली भाषा, साहित्य, निबन्ध, नाटक, कथामा आफ्ना कृतिहरू प्रकाशन गरिसकेका छन् । उनले २००८ सालमा अँगुठी शीर्षकको निबन्ध, २०२२ सालमा पञ्चायती राजकाज, २०५० सालमा रन्थगोल निबन्ध र २०५१ सालमा दुई उपन्यास र एक निबन्ध जस्ता कृतिहरू ल्याएका छन् । साहित्यसँगै उनी समाजसेवामा पनि सक्रिय व्यक्ति हुन् ।
भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुले एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा ९४ वर्षका स्रष्टा डा. महेश्वर शर्मालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले दशकौँ देखी विद्यालयले भानुजयन्तीका अवसरमा कविगोष्ठी एवं स्रष्टा सम्मान गदै आएको बताउँदै विद्यालयले गर्ने यस्ता कार्यक्रमले स्रष्टालाई हौसला हुने बताए । साथै विद्यालयले विद्यार्थीहरूलाई साहित्यको महत्व बारे बुझाउन सकेको र संस्कार सहितको असल शिक्षा दिएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा विविध साहित्यिक विधाका सर्जकहरू भगवती बस्नेत, उदय ओझा, रबी सुवेदी, सिता भट्टराई, नारायण नेपाल र सिर्जना अर्याल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो । सबै स्रष्टाहरूले कविता तथा गजल वाचन गरेर सुनाएका थिए ।
सम्मानित हुने स्रष्टा डा. महेश्वर शर्माले आफू सम्मानित हुन पाउँदा खुसी लागेको बताउँदै सम्मानलाई जोगाएर राख्नु चुनौती हुने भनाई राखे । उनले विद्यार्थीहरूलाई हौसला दिदै शिक्षकले सलाई कोरिदिने काम गरेपनि बत्ती विद्यार्थीले नै जलाउनुपर्ने र जीवनको अन्तिम समयसम्म ज्ञानको दियो जलाइ रहन आग्रह गरे ।
एपेक्स लाइफ स्कुलका अध्यक्ष सुवास न्यौपानेले भानुजयन्तीको अवसरमा एपेक्स लाइफ स्कुल तथा भानु प्रतिष्ठानको संयुक्त आयोजनामा स्रष्टा सम्मान, अन्तर विद्यालय साहित्यिक प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम आयोजना गरी विगत २० वर्षदेखि मनाईरहेको जानकारी दिए । साथै भानुजयन्तीलाई नेपाली भाषा र साहित्यको उत्सवको रूपमा मानाउँदै आएको बताए ।

नेपाली भाषा साहित्य, संस्कृति, रीतिरिवाज, मूल्य मान्यतालाई भावनात्मक रूपमा जोड्ने नेपाली भाषीका एकताका प्रतीक राष्ट्रिय विभूतिका विभूति, राष्ट्रिय गौरव आदिकवि भानुभक्तको सम्झनामा श्रद्धा सुमन प्रकट गरे ।
एपेक्स लाइफ स्कुलले भानुजयन्तीको अवसरमा अहिलेसम्म देवज्ञराज न्यौपाने, तुलसी भट्टराई, केशव प्रसाद उपाध्याय, रमेश विकल, डा. धुब्रचन्द्र गौतम, वसन्त शर्मा, रमेश खकुरेल, पूर्ण प्रकाश यात्री, डा.कृष्णहरी बराल, रामचन्द्र शर्मा पौड्याल, महेश पौड्याल, डा. राजेन्द्र विमल र यज्ञराज उपाध्यायलाई स्रष्टा सम्मान गरिसकेको छ । साथै यो वर्ष डा. महेश्वर शर्मालाई स्रष्टा सम्मान गरेको हो ।
भानुजयन्ती नेपाल बाहिरका देशहरूमा पनि नेपाली भाषीहरूले मनाउँदै आएका छन् । हङकङ्ग, बर्मा, थाइल्याण्ड, भुटान, भारतको आसाम, दाजर्लिङ, सिक्किम, साथै अमेरिका, युरोपमा पनि मनाइन्छ । उनका साहित्यिक सिर्जना र भाषागत योगदानले भानु आज पनि नपाली भाषीबिच उत्तिकै सशक्त ज्युदा छन् भन्न सकिन्छ ।
उनका कृति रामायण, बधूशिक्षा, भक्तिमाला, प्रश्नोत्तरमाला, रामगीता आज पनि नेपाली जनजिब्रोमा त्यत्तिकै लोकप्रिय छन् । उनका भाषागत संवेदनशीलता, सरलता, मौलिकता, लालित्ययता सबै खालका काव्यगत विशेषताहरू उनको लेखमा पाइन्छ ।



