एसईईको नतिजाले मन्त्रालयमात्र नभई सिङ्गो समाजले ग्लानी महसुस गर्नुपर्छ : शिक्षामन्त्री

काठमाडौं/१७ असार- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतीकरण हटाएरै छाड्ने बताएकी हुन् ।


मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण र गुन्डागर्दी नसहने बताउँदै प्रहरी परिचालन गरेर भएपनि यसको अन्त्य गर्ने बताएकी छन् । साथै दलीय राजनीतिका कारण त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले खोलेको विज्ञापनमा अन्तर्वार्ता प्रहरी राखेर गर्नुपरेको उनको भनाई छ ।


टियुमा सेवा आयोगले नयाँ विज्ञापन खोलेको र विज्ञापन गर्न पाइँदैनन् भनेर एउटा समूह उठेर तालाबन्दी गरेको बताउँदै आफु शिक्षा मन्त्री रहँदासम्म प्रहरी प्रयोग गरेर भएपनि दलीय राजनीतिकरण हटाएरै छोड्ने बताएकी हुन् ।


त्यसैगरी एसईईको नतिजालाई लिएर शिक्षा मन्त्रालयमात्र नभई सिङ्गो समाज नै आक्रोशित हुनुपर्ने धाराणा राखेकी छन् । एसइईमा विद्यार्थी अनुत्तीर्ण भएका प्रतिशतले समाजको चित्रण गरेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले मात्रै होइन सिङ्गो समाजले आक्रोशित र ग्लानी महसुस गर्नुपर्ने बताइन ।