दुई विधेयकमा त्रिविका प्राध्यापकहरूसँग छलफल

काठमाडौँ /१४ असार – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रि.वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभागहरूका प्राध्यापक र विद्यार्थीहरूसँग विज्ञान प्रविधि तथा नवप्रवर्तन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र व्यवहारिक विज्ञान प्रविधि तथा उद्योमोदय कोष सम्बन्धी विधेयकको मस्यौदामा छलफल सम्पन्न गरेको छ ।


विपि कोइराला विज्ञान संग्रालय कीर्तिपुरमा शुक्रवार सम्पन्न कार्यक्रममा त्रिविका रसायन शास्त्र केन्द्रीय विभाग, कम्प्युटर विज्ञान केन्द्रीय विभाग, भौतिक शास्त्र केन्द्रीय विभाग, गणीतशास्त्र केन्द्रीय विभाग, जैविक प्रविधि केन्द्रीय विभाग, तथ्याङ्क शास्त्र केन्द्रीय विभाग, वातावरण विज्ञान केन्द्रीय विभाग, वनस्पति विज्ञान केन्द्रीय विभाग, प्राणी शास्त्र केन्द्रीय विभाग, माइक्रोवायोलोजी केन्द्रीय विभाग लगायतका विभागहरूबाट प्रतिनिधित्व भएको थियो ।


उक्त कार्यक्रममा दुवै ऐनहरूको बारेमा भएका सैद्धान्तिक व्यवस्थाहरूका मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी लगायतले प्रस्तुतीकरण गरेका थिए । छलफलमा भाग लिँदै सहभागीहरूले विश्वविद्यालय भित्र हुने अनुसन्धानलाई विधेयकले प्राथमिकीकरण र लगानी बढाउनु पर्ने, अनुसन्धानकर्ताहरूको मनोबल उच्च गराउन राज्यले भूमिका खेल्नु पर्ने, अनुसन्धानमा हुने प्रक्रियागत झन्झटलाई कम गर्नुपर्ने बताए ।


नेपालका विभिन्न मौलिक जैविक पदार्थ विना अनुगमन बाहिर जाने गरेकोमा केही नियन्त्रण हुनुपर्ने पनि तर्क पेस गर्दै विधेयकको मस्यौदा संशोधनपछि पुनः छलफल होस भन्ने धारणा व्यक्त गरे ।


कार्यक्रममा मन्त्रालयका सह–सचिव इन्दु विक्रम जोशीले हाल नेपालमा विज्ञान प्रविधिको प्रवर्धनको लागि एसटिआई गर्भनेन्स तथा लगानीको लागि एसटिआई फण्ड चाहिएकोले यी दुई विधेयक मन्त्रालयले ल्याउन खोजेको बताए ।


कार्यक्रमको अन्त्यमा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले विज्ञान प्रविधि र नवप्रवर्तन सँग सम्बन्धित विधेयक र प्रविधि उद्योमोदय कोष सँग सम्बन्धित विधेयकहरू दुवैले विश्वविद्यालयका अनुसन्धानकर्तालाई प्रमुख प्राथमिकतामा राखेको बताए । ‘अनुसन्धानहरूले देशको आर्थिक विकासमा टेवा पु¥याउने किसिमले देखिने गरी प्रभाव बढाउन आवश्यक रहेको र मन्त्रालयले विज्ञान प्रविधिको समग्रता समेट्ने किसिमको विधेयकको प्रारम्भिक मस्यौदा मात्र निर्माण गरी सरोकारवालाहरूको सुझाव समेट्छौँ’सचिव पुडासैनीले भने ।


सुझावका लागि दुवै विधेयकको मस्यौदा मन्त्रालयको वेबसाइटमा पनि सार्वजनिक गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले दुवै विधेयकका मस्यौदामा सरोकारवालाको सुझाव लिएर सुझाव अनुसार मस्यौदा संशोधन गरेर मन्त्रीपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।