अजिरकोट गाउँपालिकाको शिक्षा सुधारका लागि सहकार्य

काठमाडौँ/१४ असार – काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसन र गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाबिच शिक्षा सुधार गर्ने उद्देश्यसहित सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतामा दुवै पक्षले शिक्षा क्षेत्रमा गुणस्तर सुधार्न एक आपसमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।


१९९७ देखि गुणस्तरीय शिक्षक शिक्षा र अनुसन्धानको क्षेत्रमा ममत्वपूर्ण भूमिका खेल्दै आएको काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसनले अब अजिरकोट गाउँपालिकाको शैक्षिक स्तरलाई उत्कृष्ट बनाउने उदेश्यले सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।


सम्झौताअनुसार काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनले लेखन र सञ्चार केन्द्र र भाषा शिक्षा विभाग मार्फत आवश्यकता पहिचान, शिक्षा योजना निर्माण, शिक्षक निरन्तर पेसागत विकास, अङ्ग्रेजी शिक्षण पद्धति, प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम, दस्तावेजीकरण र प्रतिवेदन पेस जस्ता कार्यहरू सम्पादन गर्नेछ ।


यसले स्थानीय शिक्षा सुधारमा मात्र नभई, सम्पूर्ण शिक्षण पद्धतिको पुनरावलोकन र नविनता ल्याउन सहयोग गर्ने विश्वास गरिएको छ । शिक्षा क्षेत्रमा यस प्रकारको सहकार्यले दीर्घकालीन प्रभाव पार्ने र समृद्ध भविष्यको निर्माण गर्ने आशा विश्वविद्यालयले गरेको छ ।