एसईईमा झापामा ८ हजार १ सय ३७ अनुत्तीर्ण, एक जनाले ल्याए ४ जिपिए

युवराज रेग्मी
झापा/१३ असार – २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा झापामा एक जनाले मात्र ४ जिपिए ल्याउन सफल भएका छन् । नतिजा अनुसार झापामा यस वर्ष ८ हजार १ सय ३७ अनुत्तीर्ण रहेको पाइएको छ ।


नतिजा अनुसार कमल गाउँपालिकाकी कुशिका बस्नेतले मात्र ४ जिपिए ल्याउन सफल भएकिछ्न । झापाको कमल गाउँपालिका वडा न ५ पाडाजुँगीकी कुशिकाले दमकको सिद्धार्थ बोर्डिङ स्कुलबाट एसईई दिएकी थिइन् । उनी सो विद्यालयमा कक्षा २ देखि अध्ययनरत रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।


झापामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७ हजार ३२५ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । अर्थात् ४७.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । एसईईमा झापाबाट कुल १५ हजार ४ सय ६२ जना परीक्षार्थी सहभागी भएका थिए । साथै ८ हजार १ सय ३७ जना विद्यार्थी नन ग्रेडिङ (असफल) मा परेका छन् ।


दुई विषयमा अनुत्तीर्ण परीक्षार्थी समेत नन ग्रेडिङमा गणना गर्दा ८ हजार १ सय ३७ जना असफल भएका हुन् । तीमध्ये दुई विषयमा फेल भएका उनीहरूले साउन १८ र १९ गते ग्रेड वृद्धि मौका परीक्षा दिन पाउने शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।


झापामा ३.४ देखि ४ जिपिएसम्म ल्याउने ७४७ जना, ३.२ देखि ३.६ सम्म ल्याउने २ हजार ४५८ जना, २.८० देखि ३.२० सम्म ल्याउने २ हजार ९७२ जना, २.४० देखि २.८० सम्म ल्याउने १ हजार १०३ जना र २.० देखि २.४० सम्म ल्याउने ४५ जना रहेकाछन् ।