काठमाडौं/१३ असार – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको एसइईको नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएकोमा एक सय ८६ जनाले ४ जीपीए ल्याएका छन् भने परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् ।
एक लाख १४ हजार ४८ छात्र र एक लाख २८ हजार दुई सय ५७ छात्रासहित कुल दुई लाख ४२ हजार तीन सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको बोर्डले जनाएको छ ।
त्यसैगरी एउटा विषयमा एनजी आउने ६७ हजार सात सय ९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको छ । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ ।
यस्तो छ प्रदेशको नतिजा
आज सार्वजनिक भएको नतिजा अनुसार यसवर्षको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार आठ सय ७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार आठ सय ४३ जनाले ननग्रेड (एनजी) पाएका छन् । लुम्बिनी प्रदेशबाट ८० हजार तीन सय २७ विद्यार्थी सहभागी भएकामा ४९ हजार दुई सय २४ जनाको ननग्रेड (एनजी) आएको छ । मधेश प्रदेशमा ७९ हजार पाँच सय ९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार दुई सय ८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार नौ सय ८८ जना सहभागी भएकामा ३९ हजार आठ सय ९५ जनाको ननग्रेड (एनजी) आएको छ ।
गण्डकी प्रदेशमा ४० हजार पाँच सय २६ विद्यार्थी सहभागी भएकामा २० हजार दुई सय ७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार तीन सय ८० जनाको ननग्रेड आएको छ । सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार चार सय ४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार चार सय १० जनाको ननग्रेड आएको छ । उनीहरुले पुरक परीक्षामा सहभागी हुनुपर्ने छ ।
मौका परीक्षा साउन १८ र १९ गते
राष्ट्रिय रीक्षा बोर्डले दुई लाख ४२ हजार ३ सय १३ परीक्षार्थी ‘नन ग्रेडेड’मा परेको जनाएको छ । जसमा एक वा दुई विषयमा नन ग्रेड ल्याएका एक लाख १५ हजार ८ सय ३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।
एसईईको नतिजा चित्त नबुझे के गर्ने ?
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



