काठमाडौँ /१७ माघ – शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा विधेयकमा केही मापदण्डका बारेमा उल्लेख नभएको भन्दै पुनर लेखन गर्नुपर्ने बताएका छन् । विधेयक माथि संशोधन हालिएपनि संशोधनले मात्रै काम नगर्ने बताउँदै त्यसका लागि पुनर्लेखन गर्नुपर्ने बताएका हुन् ।
विधेयकमा केही कुराहरू विचारणीय रहेको र त्यसलाई व्यवस्थापन गर्नका लागि विधेयकमा मापदण्ड राख्नुपर्ने बताएका छन् । कोइरालाले विधेयकमा प्रधानाध्यापक हुने मापदण्ड उल्लेख गर्नुपर्ने र शिक्षकहरूको सेव सुविधाका लागि छुट्टै ऐन बनाउनुपर्ने तर्क राखेका छन् ।
साथै भोलिको विद्यार्थी कस्तो हुन्छ, त्यो विद्यार्थीलाई कस्तो शिक्षक चाहिन्छ, शिक्षकलाई सपोर्ट गर्ने प्रणाली के चाहिन्छ, शिक्षकलाई अद्यावधि गरिरहनलाई के चाहिन्छ, त्यसका लागि कुन दर्शन अनुसार हामी जानुपर्छ, हाम्रो पुर्खाको ज्ञान र आधुनिक ज्ञानलाई कसरी जोड्नु पर्छ लगायतका विषयलाई प्रस्तावनामा राखेर शिक्षकहरूको सुविधा दिन सकिने र दिन नसकिने कुरा प्रस्ट पार्नु पर्ने बताए ।
खबर एजुकेशनसँग कुरा गर्दै उनले भने “शिक्षकहरूको सुविधाहरूका लागि दिन सक्ने सुविधार र दिन नसकिने सुविधामा शिक्षकहरूलाई अन्य कुरामा पनि जोड्न सकिन्छ । जस्तै विमामा स्वतः सदस्य, बैंकहरूमा स्वतः सदस्य, सेयर बजारमा स्वतः सदस्य जस्ता प्रावधान राखि दिने हो भने शिक्षक सुविधाको आश्वस्त हुन्छ ।”
त्यसैगरी शिक्षकहरूले पदोन्नति खोजेको र त्यसका लागि समय थपिदिएर अवसर दिनुपर्ने उनको तर्क छ । “जस्तै ५ वर्ष भित्र शिक्षकले सक्छ भने काम गर्नका लागि अवसर दिने तर स्वतः स्थायी हुँदैन भन्ने । स्वतः स्थायी शिक्षकहरूले खोजेका पनि छैनन्, यो विषय निकै सकारात्मक पनि हो । यसो गरियो भने विद्यालय शिक्षाले एउटा बाटो लिन्छ यस अर्थमा पुनर्लेखन गर्नुपर्छ भनिएको हो । संशोधनले काम गर्दैन भन्ने मेरो ठम्याई छ” कोइरालाले भने ।



