स्याङ्जा/१६ माघ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको बचत खाता खोल्ने अभियान सुरु गरेको छ । ‘हातमा होइन खाता’मा भन्ने उदेश्यसहित अभियान सुरु गरेको हो ।
शिशु कक्षा देखि १२ कक्षासम्म पढ्ने सबै विद्यार्थीको बचत खाता निःशुल्क खोलिने छ । यसका लागि गाउँपालिका र प्राइम कमर्सियल बैँकको साझेदारीमा खोलिएको खातामा बैँकले एकसय र पालिकाले एक सय गरी दुई सय रुपैयाँ जम्मा हुनेछ ।
झन्डै दुई हजार विद्यार्थीको खाता सञ्चालन गर्न पालिकाले कार्यविधि राजपत्रमा प्रकाशित गर्दै यो अभियान सुरु गरेको जनाएको छ । यो कार्यक्रम लागुभएसँगै विद्यार्थीले पाउने पुरस्कार, छात्रवृत्ति, अक्षयकोष लगायतको सहयोग रकम सिधै विद्यार्थीको खातामा जम्मा हुनेछ ।
साथै अभिभावकले पनि मासिक न्यूनतम एक सय रुपैयाँ विद्यार्थीको खातामा राख्ने नियम लागु गरिएको छ । यो अभियानले आफ्ना बच्चाको उच्च शिक्षालाई राहत पुग्ने अभिभावकको विश्वास छ ।



