२०५८ सालयता थेसिस बुझाउन नसकेका विद्यार्थीलाई त्रिविको अन्तिम मौका

काठमाडौँ /४ माघ – त्रिभुवन विश्वविद्यालयले २०५८ सालयता थेसिस बुझाउन बाँकी विद्यार्थीहरुलाई एक पटकका लागि अन्तिम मौका दिने भएको छ । स्नातकोत्तर तह उत्तीर्ण गरेका तर थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम मौका दिने भएको हो ।


त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र सङ्काय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र मानविकी तथा समाजशास्त्र संकायले अन्तिम पटकका लागि मौका दिने निर्णय गरेको जनाएको छ ।


वार्षिक प्रणाली अन्तर्गत स्नातकोत्तर तहको सैद्धान्तिक परीक्षा पास भएका तर, थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट, इन्टर्नसिप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पुरा नगरेकाहरूलाई यस्तो मौका प्रदान गरेको हो । त्रिवि प्राज्ञिक परिषद्को पुस २५ गते बसेको बैठकले २०८१ असार मसान्तसम्ममा बुझाउन भनेको हो ।


२०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा प्रथम पटक सम्मिलित भएका र सो पछि भर्ना भई समय सीमा काटेकाहरू तथा सेमेस्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भई समय सीमा काटेको परीक्षार्थीहरूले मात्र २०८१ असार मसान्त भित्र सम्बन्धीत क्याम्पस विभागमा बुझाई भाइबा समेत गर्ने गरी एक पटकका लागि अवसर दिएको हो ।
साथै एम.फिल तहका परीक्षार्थीहरूको हकमा २०६८ सालमा भर्ना भई समय सीमा काटेकाहरुले उक्त अवसर पाउनेछन् ।