काठमाडौँ /४ माघ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले शैक्षिक सत्र २०२४ फेब्रुअरीको तीनवटा कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको छ । मास्टर ईन हायर एजुकेशन, गणितमा ६ महिनाको ब्रिज कोर्स र समावेशी विशेष शिक्षाको लागि डिप्लोमा तहको कार्यक्रम समावेश गरिएको तीन विषयमा आवेदन माग गरिएको हो ।
मास्टर इन हायर एजुकेशन कार्यक्रम एक वर्षको अवधिको कार्यक्रम हो । यसले नेतृत्व र व्यवस्थापन क्षमताको विकासलाई जोड दिँदै सहभागीहरूलाई उच्च शिक्षाको परिष्कृत अभ्यासहरू प्रदान गर्ने लक्ष्य राखेको छ । उच्च शिक्षाको वर्तमान चुनौती र अवसरहरूलाई बुझ्न र उच्च शिक्षाको विश्वव्यापी आवश्यकतालाई सम्बोधन गरि पेसागत विकास तथा शैक्षिक संस्थाहरूको वृद्धिमा योगदान पुराउने उदेश्यले यस कार्यक्रम विश्वविद्यालयले ल्याएको जनाएको छ । यस कार्यक्रमबाट उच्च शिक्षाको क्षेत्र भित्र नेतृत्वको भूमिकामा रहेका, नीति निर्माता, शिक्षक र शैक्षिक प्रशासनको क्षेत्रमा काम गर्ने व्यक्तिहरू लाभान्वित हुने अपेक्षा विश्वविद्यालयले लिएको छ ।
साथै गणित विषयको ब्रिज कोर्स (६ महिना) ले सहभागीहरूलाई गणित विषयमा ग्य्राजुएट नभएका तर, सामान्य गणितको ज्ञान भएका तथा गणित विषयमा अध्यापन गराइरहेकाहरूका लागि गणितीय जग बलियो बनाउन महत्वपूर्ण अवसर भूमिका रहन्छ । कुनै पनि विषयमा ब्याचलर डिग्री हासिल गरेका ब्यक्तिहरूले यो कोर्स गर्न सक्ने र यस कोर्स पूरा गरेपछि यस विश्वविद्यालयमा गणित शिक्षामा मास्टर डिग्री गर्न सक्ने विशेष उद्देश्यका साथ यस कार्यक्रम ल्याएको छ ।
समावेशी र विशेष शिक्षा ”डिप्लोमा कार्यक्रम” समावेशी शिक्षाको चेतना र सीपहरू बढाउने महत्त्वपूर्ण उद्देश्यहरूलाई सम्बोधन गर्न तयार गरिएको कार्यक्रम हो । फरक आवश्यकताहरू भएका विद्यार्थीहरूको विविध आवश्यकताहरू पूरा गर्नमा समर्पित यस कार्यक्रमले शिक्षकहरू, अभिभावक तथा समुदायमा कार्यरत व्यक्तिको विकासको लागि उत्प्रेरकको रूपमा कार्य गर्दछ ।
सबै विद्यार्थीहरूका लागि पहुँच योग्य र सहयोगी सिकाईको वातावरण सिर्जना गर्न सक्षम शिक्षकहरू तथा व्यक्तिहरूको बढ्दो मागलाई पूरा गर्न यस कोर्स सहयोगी हुने विश्वविद्यालयको भनाइ छ । यसले सहभागीहरूलाई समावेशी शिक्षाको गहिरो बुझाइलाई आत्मसात् गर्न, समावेशी शिक्षाको, व्यवस्थापन तथा विविध क्षमताका विद्यार्थीको सिकाई जस्ता विषयमा शिक्षकको निपुणता तथा गुणस्तरको विकास गर्ने सहज वातावरण प्रदान गर्नेछ । कम्तीमा १२ कक्षा उत्तीर्ण गरेका व्यक्तिहरूले यो कार्यक्रममा भर्ना हुनका लागि आवेदन दिन सक्नेछन् ।




