काठमाडौँ /२६ पुस – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउन नहुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै एसईई हटाउन नहुने बताएका हुन् ।
एसईई परीक्षा हटाए विद्यार्थीको गुणस्तर खस्किने र कक्षा ८ पछि एकै पटक १२ कक्षामा परीक्षा लिँदा धेरै अन्तर हुने बताउँदै एसईई आवश्यक रहेको बताए । साथै कक्षा १० मा परीक्षा आवश्यक रहेको बरु कक्षा १० को परीक्षा केन्द्रले नगरीकन प्रदेशमा राख्न सकिनेमा जोड् दिए ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड स्वायत्त संस्था भएकोले काम कारबाहीको सवालमा प्रक्रिया झन्झटिलो बनाउन नहुने र शिक्षण सिकाई, विद्यालयको क्रियाकलापको नतिजा दिने भएकोले नितान्त स्वायत्त हुनुपर्ने बताए । उनले भने ‘बोर्ड एकेडेमी संस्था हो की प्रशासनिक यसमा बुझन आवश्यक छ । सैद्धान्तिक हिसाबले एकेडेमी संस्था भएकोले प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, शिक्षकहरूलाई परीक्षा प्रणाली सम्बन्धी तालिम सञ्चालन गर्ने, नतिजा विश्लेषण गर्ने, सरकारलाई नीतिगत रूपमा सुझाब दिने भएकोले नितान्त स्वायत्त हुनुपर्छ ।’
साथै विधेयकमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको व्यवस्था नगरेको तर आवश्यकता अनुसार शाखा कार्यालय रहन सक्ने भनिएकोले परीक्षा व्यवस्थापन कार्यालय नै राख्नुपर्ने डा. शर्माले सुझाब दिए । उनले प्रदेश स्तरमा प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण लगाएतका एकेडेमी काम गर्नुपर्ने बताउँदै परीक्षा व्यवस्थापन कार्यालय आवश्यक रहेकोमा जोड् दिए ।
शर्माले बोर्डका कर्मचारीको सवालमा बोल्दै २०७३ पछि कुनै कर्मचारी नथपिएको र एक पटकका लागि आन्तरिक प्रतिस्पर्धा गरेर कर्मचारी नियुक्ति गर्नुपर्ने सुझाब दिएका छन् ।



