काठमाडौँ /२२ पुस – निजी विद्यालय सञ्चालकहरूले सरकारले संसदमा पेस गरेको विद्यालय शिक्षा विधेयकमा ८ बुँदा संशोधनका लागि सुझाब दिएका छन् । विद्यालय शिक्षा विधेयकका बारेमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आइतवार गरेको छलफलमा ८ बुँदा संशोधन गर्नुपर्ने सुझाब दिएको हो ।
उनिहरूले दिएको सुझाबमा दफा ४(३) मा रहेको संस्थागत विद्यालय गुठीमा जानुपर्ने व्यवस्थालाई संशोधन गरी कम्पनीमा नै रहने व्यवस्था गर्न भनिएको छ । संविधानको धारा १७(२) (च) उद्योग पेसा व्यवसाय गर्ने स्वतन्त्रता र धारा २५ को सम्पतिको हक अनुरूप शिक्षामा निजी क्षेत्रको व्यवसाय र लागनी सुरक्षित गर्न कम्पनीमा नै रहने व्यवस्था गर्न भनिएको छ ।
त्यसैगरी भाषाका कारण सामुदायिक विद्यालयमा विद्यार्थीले पढाई छाड्ने सम्भावना रोक्न र भाषा छनौट गर्ने अधिकार विद्यार्थीलाई दिनुपर्ने बताउँदै मूल विषय मध्ये गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी वा नेपाली भाषामा अध्यापन गराउनुपर्ने सुझाब दिएका छन् । साथै नेपाली मौलिक कला संस्कृति, सभ्यता, सामाजिक रहनसहन समेटिएका सामाजिक अध्ययनका विषयहरू नेपाली, अङ्ग्रेजी वा मातृभाषाको माध्यमबाट अध्ययन गराउने व्यवस्था ऐन गर्न सुझाब दिएका छन् ।




