भारतको कोलकत्तामा मदरल्याण्डका विद्यार्थी सहभागी

भक्तपुर/१९ पुस – भारतको कोलकत्ता शहरमा यही पौष २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन गइरहेको गुवील अन्तर्राष्ट्रिय ताइक्वान्दो प्रतियोगितामा भाग लिन नेपालको तर्फबाट ५ खेलाडी मास्टर लक्ष्मण बस्नेतको नेतृत्वमा प्रस्थान गरेका छन् ।


मदरल्याण्ड स्कुल भक्तपुरको कक्षा ८ मा अध्ययनरत अन्तर्राष्ट्रिय पदक विजेता जयराम विक जुनियर अन्डर ४८ केजी तर्फ र मदरल्याण्ड स्कुलकी पूर्व विद्यार्थी एवं मदरल्याण्ड समूहबाट प्रशिक्षित महिला सिनियर अन्डर ४९ केजी तर्फ आरती सिखंवाल लगाएत जुनियर अन्डर ५९ केजी तर्फ निशान्त लामिछाने, सिनियर अन्डर ६८ केजी तर्फ शान्त कुमार राणामगर र आस्तिक नकर्मीले ताइक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट खेल्नेछन् ।


नेपाल, भारत, बगंलादेश, भुटान लगायत देशका खेलाडिहरू सहभागी हुने खेलमा ताईक्वानडो आईटीएफÞ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत विशेष अतिथिको रूपमा आमन्त्रित भएका छन् । सहभागी टोली लाई बनेपा १३ स्थित विकटेश्वर मन्दिरका पुजारी प्रदीप पौडेलले मन्दिर प्राङ्गणमा वैदिक परम्परा अनुसार मन्त्रोच्चारण गरी सफलताको आशीर्वाद दिई बिदाइ गरेका थिए । साथै मदरल्याण्ड स्कुल भक्तपुरका २ खेलाडीलाई स्कुलकी व्यवस्थापक सर्मिला देउजाले बिदाइ तथा शुभकामना दिइन ।