काठमाडौँ /१८ पुस – नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० को मस्यौदामा समावेश भएका विषयमा ६१ बुँदै सुझाब पेश गरेको छ । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज भएको बैठकमा सो सुझाब पेश गरेको हो ।
समितले सरोकारवालहरुसँग छलफल गर्ने क्रममा आज नेपाल शिक्षक महासंघसँग छलफल गरेको थियो । आजको छलफलमा शिक्षकहरुका सुझाब मात्र सुनिएको र अर्को बैठकबाट निष्कर्षमा पुग्ने गरी बैठक सकिएको थियो । महासंघले विधेयकमा नसमेटिएका शिक्षक काउन्सिल, पद समायोजन, आन्तरिक परीक्षाको व्यवस्था र शिक्षक अस्पताल खोल्ने सम्मको प्रावधान विधेयकमा समेट्नु पर्ने सुझाब तथा माग राखेको छ ।
त्यसैगरी सामुदायिक विद्यालयका शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरण गर्न नहुने, कारबाहीको अधिकार स्थानीय तहलाई दिन नहुने, प्रारम्भिक बालकक्षादेखि कक्षा ८ सम्मलाई आधारभुत शिक्षामा राख्नु पर्ने, विद्यालय अनुमति आधारभुत तहको मात्रै स्थानीय तहले दिनु पर्ने र माथिल्लो तह जिल्ला शिक्षा कार्यालयको सिफारिसमा प्रदेशले दिने व्यवस्था सहितको कानुन बनाउनु पर्ने, प्रधानाध्यापक सम्बन्धी व्यवस्था पनि शिक्षक सेवा आयोगको सिफारिसिमा जिल्ला शिक्षा कार्यालयले नियुक्ति गर्ने प्रावधान राखेर विधेयक पारित गर्नु पर्ने, शिक्षणको भाषा अंग्रेजी र नेपाली राख्नु पर्ने, बाल विकास केन्द्रका अध्यापनकर्तालाई शिक्षक भन्नु पर्ने, उनीहरुलाई प्राथमिक तृतीय सरहको दरबन्दीको व्यवस्था गर्नु पर्ने, जिल्ला शिक्षा कार्यालय कायमै राख्नु पर्ने लगायतको माग राखेको छ ।
बैठकमा नेपाल शिक्षक महासंघका अध्यक्ष, सहअध्यक्ष, महासचिव, कोषाध्यक्ष, शिक्षक संघका अध्यक्ष, युएन्टोका अध्यक्ष,एन्टोका अध्यक्ष, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष, एनएनटिएका अध्यक्ष र एन्टाको अध्यक्षको सहभागिता रहेको थियो ।



