काठमाडौं/१८ पुस – प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ ।
राजनीतिक भागबन्डाको आधारमा सबै विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने प्रचलनले विश्वविद्यालयको साख गिर्दै गएको विषयमा सर्वत्र आलोचना भइरहेको बेला सरकारले कार्यविधि तयार गरी मेरिटको आधारमा त्रिविको उपकुलपति छनोट गर्न लागेको हो ।
कार्यविधिमा प्राध्यापन क्षेत्रमा लगातार १० वर्ष योगदान गरेको विद्यावारिधि भएको, त्रिविको शैक्षिक प्राज्ञिक उन्नयनका लागि उपकुलपति भएर गर्न सक्ने कामको योजनासहितको प्रस्तुतीकरणलगायत विषय समेटिएको छ । कमिटीले योग्यता र शिक्षा क्षेत्रमा गरेको योगदानलाई ५५ र ४५ अंकको प्रस्तुतीकरण अंक तोकेको छ । कमिटीले सबै विषय गोप्य राखेको छ ।
स्रोतका अनुसार ड्राफ्ट तयार भए पनि सार्वजनिक भएको छैन, यी विषय समेटेर उपकुलपति छनोट प्रक्रिया अघि बढाइने छ ।
’कमिटीले सार्वजनिक सूचना जारी गरेपछि योग्यताका आधारमा सर्टलिस्ट तयार गर्नेछ, त्यसपछि छनोटमा परेका सबैको प्रस्तुतीकरणको आधारमा ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिस भएकामध्ये त्रिविका कुलपतिले एक जनालाई उपकुलपति नियुक्ति गर्ने प्रावधान छ ।
’उपकुलपति राजनीतिक भागबन्डाको आधारमा हुँदैन, कार्यविधिअनुसार सबै विषयमा उत्तीर्ण भएकालाई छनोट गरिने छ’ स्रोतले भन्यो । समितिले तयार गरेको कार्यविधिको विषयमा त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ ।
’सायद आउँदो साता सूचना जारी गरेर उपकुलपतिमा आवेदन माग गर्ने तयारीमा छौं’ स्रोतको भनाइ छ । कुलपति दाहालले कात्तिक १९ गते सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा शिक्षासचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे सदस्य रहेको सर्च कमिटी गठन गरेको थियो । कमिटी गठन भएको करिब डेढ महिना बितिसम्दा पनि उपकुलपति छनोट प्रक्रिया अघि बढ्न नसकेपछि सरकारको आलोचना भएको थियो ।
प्रधानमन्त्री दाहालले पुस २ गते सम्पन्न त्रिविको ४९ औं दीक्षान्त समारोहमा राजनीतिक भागबन्डाको आधारमा उपकुलपति नियुक्ति नहुने स्पष्ट पार्नुभएको थियो । कुलपति दाहालले तत्कालीन रेक्टर प्राडा शिवलाल भुसाललाई तीन महिने उपकुलपति नियुक्ति गर्नुभएको थियो । त्रिवि ऐनअनुसार बढीमा तीन महिनाका लागि उपकुलपति नियुक्ति गर्ने सकिने प्रावधानअनुसार प्राडा भुसाललाई जिम्मेवारी दिएको थियो । ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा समाचार लेखेका छन् ।


