मध्यपश्चिम विश्वविद्यालयमा लगाएको ताला दुई दिनमा नखोले तोड्ने चेतावनी

सुर्खेत/१६ पुस – आश्विन १२ गते देखि मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला दुई दिन भित्र नखोले ताला तोडी कार्यालय सुचारु गर्ने चेतावनी दिएको छ । विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक गतिविधिहरू ठप्प भएको बताउँदै दुई दिन भित्र लगाइएको ताला नखोले तोडेर कार्यालय सुचारु गर्ने चेतावनी दिएको हो ।


प्राध्यापक संघ संगठन तथा विद्यार्थी संघ संगठनद्वारा गत आश्विन १२ गते देखि विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको तालाका कारण विगत ३ महिनादेखि दैनिक प्रशासनिक कामकाज ठप्प भएको विश्वविद्यालयले जनाएको छ ।


प्राध्यापक संघ संगठनहरू तथा विद्यार्थी संघ संगठनहरूसँग विश्वविद्यालयको उच्च स्तरीय वार्ता समितिले १४ पटक औपचारिक तथा अनौपचारिक छलफल तथा वार्ता संवाद गर्दा समेत निर्णयमा पुग्न नसकेको भन्दै दुई दिन भित्र ताला नखोले तोडी दैनिक कामकाज सुचारु गर्ने जनाएको छ ।