खर्च अभावमा नियमित विद्यालय जान नसक्ने विद्यार्थीलाई पढाइसँगै काम र दाम

तनहुँ/१५ पुस – ग्रामीण क्षेत्रमा बालबालिकाले पढाइ खर्चको अभावमा अझै पनि बिचमै पढाइ छोड्नुपर्ने बाध्यता छ । यही बाध्यताको अन्त्य गर्न आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत कुखुरापालन व्यवसाय गरिएको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरापालन व्यवसाय गरिएको हो ।


गाउँपालिका अध्यक्ष शुक्र चुमानले आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको बताउनुभयो ।


गाउँपालिकाले विद्यालयमा कार्यक्रम सुरु गरेपछि विद्यालयमा पढाइसँगै विद्यार्थी कृषि पेसामा आबद्ध भएका छन् । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिकाले पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले कुखुरापालन गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताउनुभयो ।


विद्यालयमा हाल १२५ विद्यार्थी अध्ययनरतमध्ये हाल २० जना विद्यार्थी कुखुरापालनमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । गत असारको ६ गते दुई सय वटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र हाल बिक्री गर्न लायक भएको प्रधानाध्यपक गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार लोकल कुखुराको मासु प्रतिकिलो सात÷आठ सयमा बिक्री गर्ने गरिएको छ । विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ ।


कुरकुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको छ । कुखुरापालनबाट आएको नाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो । आजको गोरखापत्रमा समाचार छ ।