भक्तपुर/२७ मंसिर – विद्यालयका बस चालक र सहचालकहरूलाई सडक सुरक्षा र ट्राफिक मार्गनिर्देशन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेशनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयहरूका बस चालक र सहचालकहरूलाई सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयद्वारा प्रदान गरिएको उक्त प्रशिक्षण कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरमा आबद्ध भएका विद्यालयमा स्कुल बस र भ्यान चलाउने चालक र सहचालकलाई सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी जानकारी गराईको थियो ।
बालबालिकाहरू बोकेको सवारी साधन चलाउँदा अझ विशेष सतर्कता अपनाउनु पर्ने कुरामा जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जोड दिए । उनले भने, “ हामी चालकहरू बिरालोले बाटो काट्यो भनेर चाहि रोकिन्छौ तर रातो बत्तीमा हतार गर्छौँ, रोकिन चाहदैनौँ ।” तसर्थ सबै चालकहरूले ध्यान दिएर सवारी चलाउनु पर्दछ ।
जगाती प्रहरी वृत्तको समन्वयमा सञ्चालन भएको उक्त प्रशिक्षणमा प्रहरी निरीक्षक रमेश थापाले यसरी गरिएको प्रशिक्षणले सडक दुर्घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताए । उनले ट्राफिक सतर्कता अपनाई सबैले सडक अनुशासनमा रहनु पर्ने कुरामा जोड् दिए ।
कार्यक्रमका सभाध्यक्ष तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालय बस तथा भ्यानमा साना बालबालिकाहरु हुने भएकाले न्यून गतिमा सवारी चलाउनु पर्ने भन्दै अभिभावकहरूले पनि स्कुल बस तथा भ्यान लिन र छोड्न चाँडो आउनु पर्ने बताए । हतार नगर्न बरु बस तथा भ्यानसम्म बालबालिकालाई समयमा नै पुग्न सहयोग गर्न आग्रह आग्रह गरे ।



