डडेलधुरा / १५ मंसिर – शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकले चालु आर्थिक वर्षको तलब पाएका छैनन् । २०७६ सालमा सङ्घीय सरकारले अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक नियुक्त गर्न पाउने नीति लागु गरेको थियो । सङ्घीय सरकारले अनुदान दिएपछि शिक्षकले तलब पाउने व्यवस्था रहेको छ । पछिल्ला वर्षहरूमा सङ्घीय सरकारले अनुदान बजेट कटौती गरेपछि शिक्षकले तलब पाउन नसकेका हुन् ।
गन्यापधुरा गाउँपालिकामा शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षक आठ जना छन् । दुई जना माध्यमिक तहका शिक्षकले तलब पाइरहनुभएको छ भने बाँकी छ जनाले पाउन सकेका छैनन् । सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिलीप तामाङका अनुसार सङ्घीय सरकारले अनुदानबापत आउने रकम काटिदिएपछि शिक्षकले तलब पाउन नसकेका हुन् । उहाँले भन्नुभयो, “यस वर्ष बजेट आएको छैन ।”
सङ्घीय सरकारले बजेट नपठाए पनि गाउँपालिकाले केही रकम छुट्याएर तोकिएभन्दा कम तलबको व्यवस्था गर्ने उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा गन्यापधुरा गाउँपालिकामा सङ्घीय सरकारले छ जना शिक्षकको रकम अनुदानबापत प्राप्त भएको थियो । सङ्घीय सरकारले कार्यविधि परिवर्तन गरेपछि अनुदानबापतको रकम कटौती गरेको गन्यापधुरा गाउँपालिका शिक्षा शाखा प्रमुख विद्यालय निरीक्षक तस्बिर घटाले बताउनुभयो ।
सुरुमा छ जना शिक्षकको तलबका लागि अनुदान दिएपछि यस वर्ष भने एक जनाको तलब बराबर अनुदान आएको उहाँले बताउनुभयो । सङ्घीय सरकारले कार्यविधि नै परिवर्तन गरी अनुदानबापतको रकम नपठाएपछि सबै स्थानीय तहहरूमा यो समस्या देखिएको उहाँले बताउनुभयो । शिक्षक भने तलब पाउने आसमा विद्यालयमा अध्यापन गराइरहेका छन् । गोरखापत्रमा समाचार छ ।



